Sajhamanch Archive

‘बिरामीको दिसा–पिसाब सोहोर्ने हामी, अनि भत्ता पाउने नेता ?’

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

सांसदले दसैँ भत्तासमेत उठाइरहेको वेला महामारीविरुद्ध अग्रपंक्तिमा जुटिरहेका स्वास्थ्यकर्मीले भने सरकारले तोकेकै जोखिम भत्तासमेत पाएका छैनन् । सरकारले भत्ता दिने भनेर ३ चैतमा गरेको निर्णय देशको जेठो अस्पताल वीरमा समेत लागू नभएपछि स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।

कोभिड– १९ को उपचार तथा रोकथाममा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन ३ चैतमा सरकारले निर्णय गरेको थियो । तर, यो निर्णय देशकै जेठो अस्पताल वीरमा समेत लागू भएको छैन ।

राष्ट्रिय चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत रहेको वीर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीले पटकपटक माग राख्दा पनि ध्यान नदिएको भन्दै आइतबार अस्पतालभित्रै आन्दोलन गरे । उनीहरूले आइतबार न्याम्सका उपकुलपति डिएन साह र वीर अस्पतालका निर्देशक केदार सेन्चुरी बसेको कोठामा तालाबन्दी गरे । लगत्तै प्रशासनले प्रहरी बोलाएपछि स्वास्थ्यकर्मी र कर्मचारीहरू झन् आक्रोशित भएका थिए ।

अस्पतालको सरसफाइ विभागमा ३३ वर्षदेखि कार्यरत मनकेशरी महर्जनले प्रश्न गरिन्, ‘दुनियाँ सबै कोरोनासँग डराएको वेला पनि बिरामीको दिसा–पिसाब सोहोर्ने हामी । दिनरात नभनी काम गर्ने हामी, अनि भत्ता पाउने नेता ?’

स्रोत : नयाँ पत्रिका दैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *