Sajhamanch Archive

बार्सिलोनाको मैदानमा रियल म्याड्रिडको जित

Published: in खेलकुद by .

एजेन्सी । सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोना पराजित भएको छ । घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोना रियल मड्रिडसँग ३–१ ले पराजित भएको हो ।

शनिबार राती भएको खेलमा पाहुना टोली रियलको जितका लागि फेडेरिको भलभार्डे, सर्जिओ रामोस र लुका मोड्रिचले एक एक गोल गरे । बार्सिलोनाका लागि अन्सु फातीले एक गोल फर्काएका थिए ।

खेलको पाँचौ मिनेटमा नै पाहुना टोली रियलले बार्सिलोनाविरुद्ध अग्रता लिएको थियो । करिम बेन्जेको पासमा फेडेरिको भालभार्डेले गोल गर्दै रियललाई १–० को अग्रता दिलाएका थिए । तर, त्यसको तीन मिनेट नबित्दै बार्सिलोनाले बराबरी गोल फर्काएका हो ।

खेलको ८ औं मिनेटमा फातिले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । उनले जोर्डी अल्बाको पासमा गोल गर्दै खेल पहिलो हाफमा १–१ को बराबरीमा ल्याए । तर, दोस्रो हाफमा थप दुई गोल खाँदै बार्सिलोना पराजित भएको हो ।

६२ औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गर्दै रियललाई पुनः अग्रता दिलाए ।  रियलका कप्तान सर्जियो रामोसलाई बार्सिलोनाका क्लेमेन्ट लेङलेटले पेनाल्टी क्षेत्रभित्र जर्सी तान्दै लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिँदै पेनाल्टी दिए । सोही पेनाल्टीमा रामोसले गोल गरेका हुन् । त्यसपछि खेलको अन्तिम मिनेटमा लुका मोड्रिचले गोल गरे । उनले रोड्रिगोको पासमा गोल गर्दै रियललाई ३–१ को सहज जित दिलाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *