Sajhamanch Archive

भारतीय नागरिकसहित दुई संक्रमितको मृत्यु

Published: in समाज, स्वास्थ्य by .

विराटनगर । मोरङमा भारतीय नागरिकसहित कोरोना भाइरस संक्रमित दुई जना वृद्ध पुरुषको शुक्रबार बिहान मृत्यु भएको छ ।

एक जनाको मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल र एक जनाको विराटनगरको नोबेल शिक्षण अस्पतालमा ज्यान गएको हो । भारतको साहेवगञ्ज घर भएका ७० वर्षीय वृद्धको उपचारका क्रममा बिहान ६ः५० बजे विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ ।

कोरोनाका कारण नेपाल–भारत सीमामा आवतजावत गर्न रोक लगाउँदै नाका सिल गरिएको अवस्थामा उनी कसरी नेपाल छिरेभन्ने खुल्न सकेको छैन । बुधबार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि मोरङको कोभिड अस्पतालमा उपचाररत विदेशी नागरिकको मृत्यु भएको दोस्रो घटना हो । यसअघि संखुवासभाको अरुण तेस्रो जलविद्युत आयोजनामा काम गर्ने भारतीय कामदारको विराटनगरको नोबेल शिक्षण अस्पतालमा ज्यान गएको थियो ।

त्यस्तै झापाको गौरादह–८ का ६३ वर्षीय वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा बिहान ७ः३० बजेतिर मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई उपचारका लागि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

पीसीआर परीक्षण गराउँदा बिहीबार रिपोर्ट पोजिटिभ आएपछि थप उपचार सुरु गरिएको दाहालले बताए । उपचारकै क्रममा वृद्धको मृत्यु भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *