दिलिपले सुरु गरे ‘परदेशी २’को छायांकन
Published:
by .चैत्र महिनाबाट नेपाल सरकारले लकडाउन गरेपछि रोकिएको चलचित्र ‘परदेशी २’को छायांकन सुरु गरिएको छ । पाल्पाको माथागढीबाट चलचित्रको छायांकन सुरु गरिएको हो । दशैं लगतै चलचित्रको छायांकन सुरु गर्ने बताइएतापनि विविध कारणले गर्दा छठ पछि मात्र छायांकन सुरु भएको हो ।
नारायण रायमाझीको निर्देशनमा तयार भैरहेको चलचित्रमा प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटी, दिलिप रायमाझी लगायतका कलाकारको मुख्य भूमिका छ । पाल्पामा नायक दिलिप रायमाझीको दृश्य खिचिएको छ । यस्तै, शनिबारबाट प्रकाश सपुत, केकी अधिकारी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु लगायतको दृश्य खिचिएको छ ।
मंसिर १७ गतेसम्म पाल्पाका विभिन्न स्थानमा चलचित्रको छायांकन हुने बताइएको छ । निर्देशक रायमाझीका अनुसार लकडाउन अगाडि ७० प्रतिशत छायांकन सकिएको थियो । यो चलचित्रको कथावस्तुमा अमेरिकाको दृश्य समेत देखाउनुपर्नेछ । तर, लकडाउन र कोरोना भाइरसका कारण तत्काल अमेरिकाको दृश्य खिच्न संभव नभएपछि निर्माणपक्षले नेपालमै क्रोमा गरेर दृश्य खिच्न लागेको वुझिएको छ ।
नायक दिलिप रायमाझीले चलचित्रको कथावस्तु मनछुने खालको भएको भन्दै दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । रमेश बीजीले लेखेको कथामा निर्माण भैरहेको चलचित्रमा राजेश वंशल र नारायण रायमाझीको लगानी छ ।
Comments