‘तरकारी किन्न बजार होइन अब झोला बोकेर वारी जाऔं’
Published:
by .झापा । सहारा नेपाल सहकारी संस्थाले अब कृषि क्षेत्रको विकाससँगै कृषकलाई आय–आर्जनको पाटोमा जोड्न शुरु गरेको छ ।
बाहुनडाँगीदेखि उदयपुरसम्म र पाँचथरदेखि उदयपुरसम्मको चुरे क्षेत्रका कृषकलाई बाख्रा पालनका लागि प्रोत्साहन गर्दै दीगो आय–आर्जनका लागि प्रेरित गर्ने सहकारीको योजना रहेको सहारा नेपाल सहकारी संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताए ।
सहकारीले कृषि मूल्य श्रृंखला अन्तर्गत चुरे क्षेत्रका पाँच हजार जनालाई प्राविधिक सिप, ऋण समेत दिने योजना अघि सारेको कार्यकारी निर्देशक गिरीको भनाइ छ । विगत तीन वर्षदेखि चुरे क्षेत्रमा यस खाले कार्यक्रम सञ्चालन गर्दै आएपनि अब कृषकलाई आय–आर्जनको पाटोमा जोडेर लान सहकारीले थप रणनीति लिएको कार्यकारी निर्देशक गिरीको भनाइ छ ।
यसअघि सञ्चालनमा ल्याइएको यो कार्यक्रम प्रभावकारी भएको भन्दै यसखाले कार्यक्रमले कृषकहरु प्रत्यक्ष लाभान्वित भएकाले यो कार्यलाई निरन्तरता दिँदै अघि बढ्ने गिरीले बताए ।
सहकारीले टनेल भिलेज कार्यक्रम सञ्चालन गरिरहेको र अब सहकारीका सदस्य तरकारी लिन बजारतर्फ होइन करेसावारी र कौशीतिर जाने छन्– गिरीले भने– सहकारीले सञ्चालन गरेको यो कार्यक्रमले सबै सदस्यलाई राहत पुग्ने छ । अहिले यो कार्यक्रमका लागि पाँच सय टनेल खेती गरिनेछ । यो कार्यक्रम सञ्चालन भएर लागू भएपछि हाम्रा सदस्य तरकारी लिन बजार होइन वारीतर्फ जाने छन् । यो अभियान अहिले सहकारीले सञ्चालन गर्दैछ ।
सहकारीले शिवसताक्षी नगरपालिका–८ स्थित दोमुखाको जमिनलाई कृषि पर्यटनका रुपमा विकास गरेर लगेको गिरीको भनाइ छ । सो क्षेत्रमा दुई विगाह ८ कठ्ठा जमिनमा मह उद्योग, बाख्राको स्रोत केन्द्र र तरकारीको टनेल निर्माण गर्ने सहकारीले लक्ष्य लिएको बताइएको छ ।
सहकारीका सदस्यहरुले उत्पादन गरेका वस्तुको बिक्रीका लागि बजारीकरण गर्न समेत पहल थालिएको गिरीको भनाइ छ । जसका लागि सहकारीले कोशेली घर निर्माण गर्ने बताइएको छ ।
Comments