अन्तर्राष्टिय बजारमा अकबरेको माग बढ्दै
Published:
by .इलाम । नगदेबालीमा पर्ने अकबरे खुर्सानी पछिल्लो समय इलामका किसानका लागि अर्थोपार्जन गर्ने प्रमुख बाली बनेको छ। छोटो समयमै उल्लेखनीय आम्दानी लिन सकिने भएकाले किसानले अकबरेलाई व्यावसायिक गर्दै लगेका हुन्। अन्तर्राष्ट्रिय बजारबाट समेत अकबरेको माग आउन थालेपछि किसानले अन्य बाली मासेर अकबरे खेति सुरु गरेका हुन ।
एउटै बालीबाट लाखभन्दा बढी आम्दानी लिन सकिने ,सहजरूपमा खेती गर्ने र कम मिहिनेत पर्नाले पनि किसान अकबरे खेतिमा आर्कषित बनेका हुन्। गएको वर्ष अकबरेबाट उल्लेखीय आम्दानी लिएको भए पनि यस वर्ष रोगले सखाप परेको इलाम नगरपालिकाका किसान डिल्ली चापागाईं बताउछन्।
गएको वर्ष अकबरेबाट डेढ लाख रुपैयाँ कमाइ भएकोमा यस वर्ष ५० हजार रुपैयाँ मात्र हुने चापागाईंको अनुमान छ। “डाँठ कालो भएर कुइने रोगले सबै सखाप पारेको छ”, चापागाईंले भने, बढी पानी र हुस्सु परेकाले होला उत्पादन ह्वात्तै घटेको छ। गएको वर्ष एक हजार बिरुवा लगाएकोमा करिब डेढदुई सय बिरुवाले मात्र उत्पादन दिँदै गरेको चापागाईंको भनाइ छ। समयमा रोगको औषधि हाल्न सक्दा अकबरेबाट प्रशस्त आम्दानी लिन सकिने चापागाईंको अनुभव छ।
अकबरेको माग गर्मी मौसममा भन्दा चिसोमा बढी हुन्छ। यो पुस र माघमा अकबरेका माग उच्च हुन्छ। किसानले पनि यही मौसममा अकबरेबाट प्रशस्त आम्दानी लिनुपर्ने हुन्छ। पछिल्लो समय विदेशबाट पनि अकबरेको माग आएकाले अकबरे नबिक्ला भनेर डराउनु पर्दैन।
यो वर्ष किसानको घरघरबाटै ४८० रुपैयाँदेखि ५०० प्रतिकिलोका दरले अकबरे बिक्री भइरहेको छ। सूर्योदय नगरपालिका–१२ आठघरेका किसान मदन राईले यो वर्ष प्रतिकिलो ६०० रुपैयाँका दरले पनि अकबरे बिक्री गर्नुरेका छन्। विगत सात वर्षयता अकबरेको व्यावसायिक खेती गरिरहेका राईले उत्पादन गरेको अकबरेको माग त स्थानीय बजारदेखि विदेशमा समेत रहेको छ। राईले यो वर्ष २०० किलो अकबरे हङकङ पठाएको जानकारी दिए। भारत, अमेरिका, साउदी, कतार, मलेसिया र हङकङमा बसोबास गर्ने नेपालीले इलामको अकबरे माग गर्ने गरेका छन्। राईसँग दानाअर्थात् अकबरेको बीउको माग पनि उत्तिकै छ।
गत वर्ष २५ हजार रुपैयाँ प्रतिकिलोका दरले सात किलो दाना बियाँ उत्पादन गरेका राईले यो वर्ष बीउको तयारी गरिरहेको बताए। राईले आफ्नो खेतीमा विशेष गरी गाईको गोबरमल, गहुँत, निमको पिना, हड्डीको धुलो र आफैँले उत्पादन गरेको गड्यौले मल प्रयोग गरिरहेका छन्। दहीबाट घ्यू निकालेर बनाइएको मोहीलाई पनि निश्चित पद्धतिमा ढालेर रोगबाट बालीनाली बचाउन प्रयोग गर्नेगरेको राई बताउछन्।
नागरिक दैनिक
Comments