उदयपुरमा ब्राउनसुगरसहित ९ पक्राउ
Published: (Updated: )
by .उदयपुरमा केहीदिनयता ब्राउनसुगर कारोबारीहरु पक्राउ पर्न थालेका छन्। मंसिर २४ देखि पुस ५ गतेसम्मको अवधिमा ३ सय २२ डोज हुने ४५.३६ ग्राम ब्राउनसुगरसहित पक्राउ परेका ९ जनालाई उदयपुर प्रहरीले सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।
पत्रकार सम्मेलनमा जानकारी अनुसार गोप्य सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष टोलीले मंसिर २४, मंसिर ३० र पुस ५ गते फरकफरक ठाउँबाट ब्राउनसुगरसहित अभियुक्तलाई नियन्त्रणमा लिएको हो। २४ गते त्रियुगा नगरपालिका ११ ईनारटोलबाट ५.२५ ग्राम ब्राउनसुगरसहित सोही ठाउँका २२ वर्षीय भीमकुमार चौधरी पक्राउ परेका थिए। मंसिर ३० गते त्रियुगा नगरपालिका २ लुहालेखोला–फत्तेपुर सडक किनारबाट ३ ग्राम ब्राउनसुगरसहित थप ५ जना पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले पत्रकार सम्मेलनमा बताए।
त्यस्तै पुस ५ गते दिउँसो १ बजे त्रियुगा नगरपालिका ११ गाईघाट मेनचोकबाटै ०.२० ग्राम ब्राउनसुगरसहित त्रियुगा ११ कै जोनसिना भन्ने ३० वर्षीय सुमन बस्नेत पक्राउ परेको एसपी दाहालले बताए। उनका अनुसार बजारमै ब्राउनसुगर भित्रिदै गरेको सुराकीका आधारमा खटेको विशेष टोलीले स ११ प ६५९६ नं। को स्कुटरमा सवार बस्नेतलाई खानतलासी लिँदा उनको साथबाट ब्राउनसुगर र ९ हजार ६ सय २० रुपैंया नगदसमेत बरामद भएको हो।
बस्नेतलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा दिएको बयान अनुसार त्रियुगा नगरपालिका १४ साउने घर भई त्रियुगा १२ बस्दै आएकी २५ वर्षीया पार्वती मगरको डेरामा खानतलासी लिँदा थप २०.३४ ग्राम ब्राउनसुगर र ५७ हजार ८ सय रुपैंया फेला परेको थियो। उनको डेराबाट ब्राउनसुगर सेवन गर्न प्रयोग हुने प्लेट, बिलेट र १ थान इन्सास राईफलको गोली तथा चुरोट र सिक्का पैसासमेत बरामद भएको छ। ती सामग्रीसहित मगरलाई पनि तत्काल नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको एसपी दाहालले बताए।
सोही दिन राति ८ बजे त्रियुगा नगरपालिका १३ बरुवाखोलाबाट स १० प ९७३३ नं। को मोटरसाईकलमा चेकजाँच गर्दा चालक त्रियुगा ११ का ३२ वर्षीय नसिव राईको साथबाट १६.३७ ग्राम ब्राउनसुगर र ११ हजार २ सय रुपैंया नगद फेला परेको छ। मोटरसाईकलसहित उनलाई पनि तत्काल नियन्त्रणमा लिएर अनुसन्धान थालिएको दाहालले बताए।
चौधरी, बस्नेत, मगर र राईसँगै सातादिनअघि २ मोटरसाईकलसहित लुहालेखोला सडक किनारबाट ५ युवा पक्राउ परिसकेका छन्। स ९ प ७३३२ र स ९ प २३३२ नं। का मोटरसाईकलसहित पक्राउ पर्ने त्रियुगा २ का ३१ वर्षीय रेवतकुमार खाती, त्रियुगा ३ का ३४ वर्षीय रोहितकुमार चौधरी, ३३ वर्षीय जगसन राई र ३८ वर्षीय पर्वत दाहाल तथा त्रियुगा ४ का ३२ वर्षीय देवेन्द्र मगरलाई पनि थुनामा राखेर अनुसन्धान भईरहेको छ। उनीहरुमाथि लागुऔषध कारोबार तथा विक्री वितरण ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पछिल्लो समय बरामद भएको ४५.३६ ग्राम परिमाणको ब्राउनसुगर ३ सय २२ डोज हुने भएकाले यसले धेरै जनालाई प्रयोग गर्न पुग्ने अनुमान छ। १ डोज ब्राउनसुगर १ हजारमा बिक्ने गरेकाले त्यत्ति परिमाणलाई ३ लाख २२ हजार मूल्यबराबरको रहेको एसपी दाहालले बताए। बढ्दो लागुऔषध कारोबार र विक्री वितरणमा नियन्त्रण गर्ने योजना अनुसार जिल्लाव्यापी अभियान चलाउँदा उनीहरु पक्राउ परेको पत्रकार सम्मेलनमा जानकारी दिइयो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले पछिल्लो समय गाईघाटलगायत उदयपुरमा लागु औषधको बाक्लो प्रयोग र कारोबार हुन थालेपछि प्रहरीले ‘ब्राभो पापा अप्रेसन चलाएको बताए। त्यसकै आधारमा केहीदिनयता ब्राउनसुगर र अन्य लागुऔषधका सेवनकर्ता र कारोबारी पक्राउ पर्न थालेको डिएसपी गौतमले बताए।
प्रहरीका अनुसार विगतमा अन्य प्रकारका लागुऔषध भित्रिने तथा कारोबार हुने गरे पनि ब्राउनसुगर भित्रिन थालेको भने उदयपुरमा भर्खरभर्खर मात्र हो। यसअघि डाईजोल्याप, कोरेक्स, डाईजोपाम, लुपिजेसिकलगायत लागुऔषध भित्रिने गरेकोमा पछिल्लो समय धेरै ब्राउनसुगर भित्रिन थालेपछि अप्रेसन सुरु गरिएको प्रहरीले जनाएको छ।
नागरिक दैनिक
Comments