गुरुआमाको जन्मोत्सवका अवसरमा पोखरेल र दर्नालले दिए नारी प्रोत्साहन अक्षयकोषलाई सहयोग
Published: (Updated: )
by .विर्तामोड । आफ्नी गुरुआमाको जन्मोत्सवको अवसरमा झापाका दुई जना समाजसेवी तथा व्यवसायी व्यक्तित्वहरुले नारी सञ्चार गृह झापाले स्थापना गरेको ‘नारी प्रोत्साहन अक्षयकोष’मा तीस हजार रुपैयाँ सहयोग गरेका छन् ।
महेन्द्ररत्न माध्यमिक विद्यालय अनारमनीकी संस्थापक शिक्षक निरा प्रधानको ७६ औं जन्मोसत्वको अवसरमा सोमबार भूतपूर्व विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा उक्त सम्मान गरिएको हो । पब्लिक क्याम्पस अनारमनीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, समाजसेवी तथा सफल व्यवसायी राजकुमार पोखरेलले नगद २५ हजार र पत्रकार तथा गोर्खा टेलरिङ सेन्टरका प्रोपाइटर युवा व्यक्तित्व विरु दर्नालले पाँच हजार रुपैयाँ गरी ३० हजार रुपैयाँ प्रदान गरेका हुन् ।
उनीहरु दुवैले आफूलाई शिक्षाको ज्योति प्रदान गरेर समाजमा स्थापित गराउन सफल गुरुआमाको जन्मोत्सव कार्यक्रममा उहाँको हातबाट नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवकोटीलाई सो रकम प्रदान गरेका छन् ।
मोफसलमै पहिलोपटक पत्रकार महिलाहरु संगठित भएर वि.सं. २०६९ सालमा स्थापना गरेको संस्थाले वि.सं. २०७५ साल भदौमा पत्रकार महिलाहरुको क्षमता अभिवृद्धि गर्ने र उनीहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्ने उद्देश्यले रु. २५ लाखको अक्षयकोष स्थापना गरेको थियो ।
पछिल्लो समयमा अक्षयकोषलाई सहयोग पुर्याउने उद्देश्यले पोखरेल र दर्नालले जस्तै पत्रकारलगायत विभिन्न व्यक्तित्वहरुले आफ्ना तथा विशेष व्यक्तित्वहरुको जन्मदिनमा समेत रकम प्रदान गर्दै आएको संस्थाकी अध्यक्ष शिवाकोटीले बताइन् ।
विद्यायलयले भूतपूर्व विद्यार्थी समाज पहिलोपटक गठन गरेर गुरुआमा प्रधानको जन्मोत्सव मनाएको समाजका अध्यक्ष राजकुमार पोखरेलले बताए । वि.सं. २०२० सालमा दार्जीलिङबाट आएर शिक्षण पेशा सुरु गरेकी प्रधानले अध्यापन गराएका विद्यार्थीहरु डाक्टर, इन्जिनियर, राजनीतिकज्ञ, पत्रकार, साहित्यकार, संगीतकार र सफल व्यवसायी भएको उनले बताए ।
विद्यालयका संस्थापक प्रधानाध्यापक किशोर प्रसाईंको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रधानले आफूले पढाएका विद्यार्थीहरुले जन्मोत्सव मनाइदिएकोमा धन्यवाद व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा प्रधानले भारतको दार्जीलिङबाट गरामनीसम्म आएर सुरु गरेको शिक्षणसहितका उनको जीवनीबारे समाजका सदस्य विरु दर्नालले चर्चा गरेका थिए । कार्यक्रममा नारी सञ्चार गृहकी अध्यक्ष भीमा शिवाकोटी, समाजकै सदस्य उमा शिवाकोटी, विद्यायलयका प्रधानाध्यापक खड्ग खरेललगायतले उनले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।
सोही विद्यालयका शिक्षक तथा समाजका उपाध्यक्ष मोहन शिवकोटीले सञ्चालन गरेको कार्यक्रममा पूर्व विद्यार्थीले प्रधानलाई मायाको चिनोसहित स्वस्थ र दीर्घ जीवनको कामना गरेका थिए ।
Comments