अवैध रकमसहित विराटनगरबाट भारतीय नागरिक पक्राउ
Published:
by .विराटनगर । प्रहरीले नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट अवैध भारतीय रुपैयाँ ( भारु )सहित एक जनालाई हिजो साँझ पक्राउ गरेको छ ।
पक्राउ पर्ने भारतीय नागरिकमा २५ वर्षीय सुजित कुमार रहेका छन् । उनी भारत अररीयाका हुन् । उनलाई पाँच सय दरका अवैध भारतीय नोटसहित हिजो साँझ ५ बजेतिर पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए । उनका अनुसार पक्राउ परेका सुजितको साथबाट पाँच सय दरका एक सय चारवटा भारतीय नोट फेला परेका छन् ।
सुजितको साथबाट जम्मा ५२ हजार भारतीय रुपैयाँ बरामद भएको थापाले बताए । नेपालमा पाँच सय दरका भारतीय नोट बोक्न प्रतिबन्ध छ । प्रतिबन्धित नोट साथमा बोकेर अवैध रुपमा नेपाल प्रवेश गरेको पाइएपछि पक्राउ गरिएका सुजितलाई आवश्यक कारबाहीका लागि शुक्रबार विराटनगर भन्सार कार्यालयमा बुझाइने प्रहरी थापाले जानकारी दिए ।
पक्राउ परेका युवाले भने आफू नयाँ वर्ष मनाउन पैसा बोकेर नेपाल आएको बताएका छन् । उनले घुमफिरका लागि पोखरासम्म पुग्ने आफ्नो योजना रहेको पनि प्रहरीलाई सुनाएका छन् । तर कोरोना भाइरस सङ्क्रमणका कारण नेपाल–भारत सीमा नाका लामो समयदेखि बन्द छ ।
दुवै देशमा आवतजावत गर्न पूर्ण रुपमा रोक लगाउँदै नाका बन्द गरिएको अवस्थामा प्रतिबन्धित नोट बोकेर भारतीय युवा नेपाल छिरेका हुन् । प्रहरीले भने नाका बन्द भएको अवस्थामा नयाँ वर्षमा घुमफिर गर्ने बाहना बनाउँदै अवैध हुन्डी कारोबारको पैसा बोकेर उनी नेपाल आएको हुनसक्ने प्रहरीको आशंका रहेको छ ।
कोसी अनालाइन
Comments