Sajhamanch Archive

सीमानाका बन्द र लकडाउन अहिलेका लागि अनुपयुक्त; अर्थमन्त्री पौडेल

Published: in राजनीति, राष्ट्रिय समाचार, स्वास्थ्य by .

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पारेका छन् । कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक–सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भन्दै उनले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने तर लकडाउन र सीमानाका बन्द नगरिने बताएका हुन् ।

अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सीमानाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच नभएको बताए । उनले भने, हामी आशंकाबाट होइन, यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ ।

कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको र त्यसबाट जोगिनुपर्ने सरकारको सोच रहेको उनले बताए । अर्कोतर्फ, आर्थिक–सामाजिक क्रियाकलापलाई नियमित पनि गर्नुपर्ने आवश्यकता छ उनले भने ,त्यसकारण आर्थिक,–सामाजिक क्रियाकलापलाई यथावत् राख्छौँ, नियमित गर्छौँ र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौँ । सीमानाका बन्द गर्ने, लकडाउन गर्ने काम अहिले उपयुक्त नभएको दाबी उनले गरे ।

अर्थमन्त्री पौडेलले सरकार बजेटको तयारीमा जुटिसकेको पनि बताए । सिद्धान्त र प्राथमिकताको तयारी अन्तिम चरणमा पुगेको र बजेटको तयारी पनि सुरु भइसकेको उनले उल्लेख गरे । कोभिडपछिको आर्थिक पुनरुत्थान, रोजगारी सिर्जनालगायतका विषयमा केन्द्रित भएर बजेट निर्माण गरिने अर्थमन्त्री पौडेलले बताए । कोभिडपछिको आर्थिक पुनरुत्थान, रोजगारी सिर्जनाजस्ता विषयहरुमा बढी केन्द्रित हुन्छौँ, उनले भने, नेपाली अर्थतन्त्रलाई पुरानो लयमा फर्काउन र गतिशील बनाउनका लागि गर्नुपर्ने निर्णहरु लिने गरी बजेट लिएर आउँछौँ ।

राष्ट्रिय प्राथमिकताका विषयहरुलाई निश्चित गर्ने र बजेट कार्यान्वयनलाई सुनिश्चितता गर्ने कुरालाई ध्यान दिएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारे । उनले भने, बजेट सार्वजनिक गरेर मात्रै हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन धेरै महत्वपूर्ण विषय हो । त्यसकारणले कार्यान्वयनको सुनिश्चितता कसरी हुन्छ , त्यता केन्द्रित हुन्छौँ । कोरोना खोप खरिदका लागि बजेटको अभाव हुन नदिने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारेका छन् ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *