Sajhamanch Archive

संसदबाटै सरकारको विकल्प खोज्छौं : कांग्रेस नेता सिंह

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

बिर्तामोड । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसले संसदमार्फत नै वर्तमान सरकारको विकल्प खोजी गर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन झापाको आयोजनामा आज बिर्तामोडमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका सिंहले वर्तमान सरकारको निरन्तरता देशका लागि दुर्भाग्य हुने बताउँदै सरकारको विकल्प खोजी गर्ने बताएका हुन्।

कम्युनिष्ट सरकारसँग नैतिकताको न पनि नभएको टिप्पणी गर्दै नेता सिंहले भने यदि नैतिकता हुन्थ्यो भने, वर्तमान प्रधानमन्त्रीले संसद विघटनको निर्णय सर्वोच्चले बदर गरेलगत्तै राजीनामा दिनुपथ्र्यो ।’ ओलीले यही चैत २३ गतेभित्र विश्वासको मत संसदबाट लिनुपर्ने भएपनि उनले आनाकानी गरिरहेको नेता सिंहको टिप्पणी थियो ।

‘जनताको बहुमत प्राप्त गरेपनि कम्युनिष्ट पार्टीको सरकार असफल हुनु दुर्भाग्यपूर्ण छ’, पत्रकार सम्मेलनमा नेता सिंहले भने –‘केपी ओलीलाई अब पनि सत्तामा रहिरहन दिनु भनेको देशको वर्वादी मात्रै हो ।’ वर्तमान प्रधानमन्त्रीले निरन्तर लोकतन्त्रविरोधी कार्य गरिरहेको बताउँदै नेता सिंहले लोकतन्त्रको संरक्षणका लागि कांग्रेसले छिट्टै सरकारको विकल्प खोज्ने समेत जानकारी दिए ।

ओलीले अहिले पनि संघीयता स्वीकार नगरेको आरोप लगाउँदै नेता सिंहले केन्द्रीकृत मानसिकताबाट माथि उठ्न नसकेकै कारण प्रधानमन्त्रीले शक्ति पृथकीकरणको सिद्धान्तलाई स्वीकार गर्नुको सट्टा राज्यका निकायहरुलाई आफू मातहत नै राखेर संघीयताविपरित अभ्यास गरिरहेको धारणा राखे ।

संसद विघटन बदर भएपश्चात पनि प्रधानमन्त्री ओली संसदमा उपस्थित हुन नचाहेको, संसद सुचारु गर्न सहयोग नगरेको भन्दै नेता सिंहले देश फेरि संसद विघटनको बाटोमा जाने खतरा बढेको बताए ।

‘सिट संख्याका आधारमा अविश्वासको प्रस्ताव ल्याउन सक्ने अवस्था काङ्ग्रेससँग छैन’ । नेता सिंहले काँग्रेसलाई चरित्र अनुसारको पार्टी बनाउन नेतृत्व जुट्नुको विकल्प नभएको बताए। चौधौ महाधिवेशनमार्फत कांग्रेसले शक्तिसम्पन्न जुझारु नेतृत्व ल्याउने वताउँदै नेता सिंहले त्यसका लागि आफू छलफलमै रहेको बताए ।

प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस इलामका सभापति हिमालय कर्माचार्य, नेपाली कांग्रेस झापा भातृ संस्था समन्वय विभाग प्रमुख देउमान थेवे, जिल्ला सदस्य शेरबहादुर थापा, नेपाल महिला संघ झापा अध्यक्ष सुशिला ढकाल, लगायतको उपस्थिति रहेको थियो ।

सचिव डिल्लीराम घोर्साईले संञ्चालन गरेको कार्यक्रममा प्रेस युनियन झापाका सल्लाहकार राजेन्द्र गौतमले शब्दद्वारा स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *