सदस्यको आत्मबल बढाउन झापामा सहकारीका यस्ता योजना
Published:
by .बिर्तामोड । कोरोनाको दोस्रो लहर बढेसँगै निषेधाज्ञा लागू भएर सदस्यहरु कोरोनाको त्रासमा रहेका बेला झापाका सहकारी संघ–संस्थाहरुले विभिन्न रचनात्मक कार्यको थालीन गरेका छन् ।
बिर्तामोडस्थित शिखर बचत तथा ऋण सहकारी संस्थाले सदस्य तथा कर्मचारीको आत्मबल बढाउने फरक योजना ल्याएको छ । शिखर साकोसले ‘नआत्तिनुस्, मनोबल उच्च राख्नुस् शिखर साकोस छ तपाईको साथमा’ भनेर सदस्यहरुलाई आत्मबल बढाउने योजना ल्याएको हो ।
कोरोना संक्रमित हुँदा आत्तिएर आत्मबल घट्दा मानिसको मृत्यु हुने भएकाले सदस्यहरुको आत्मबल बढाउने र दुख पीडामा सहयोग गर्ने कार्यक्रम ल्याइएको शिखर साकोसले जनाएको छ । सदस्यहरुलाई भेटेर पौष्टिक आहार सहयोग गरी मनोबल उच्च बनाउने कार्यको थालनी गरिएको हो ।
संस्थाले अस्पताल, स्वास्थ्य सामग्री, पोसिलो खानेकुरा, अक्सिजन, रगत, यातायात लगायतको निम्ति पहल गर्नेसमेत योजना सार्वजनिक गरेको संस्थाका अध्यक्ष दिपेन्द्र राउतले जनाएका छन् । एकातिर कोरोनाको त्रास त छँदैछ, अर्कोतिर व्यापार व्यवसाय ठप्प छ । यस्तो बेला व्यवसायी सदस्यहरुमा आर्थिक भार बढ्न सक्ने हुँदा केही राहतस्वरुप योजना ल्याइएको सहसचिव तारा खतिवडाले बताए ।
हालको निषेधाज्ञाको अवधिभर सदस्यहरुलाई हर्जना र जरिवानामा शतप्रतिशत छुट दिने र निषेधाज्ञा अवधिको व्याजमा १५ प्रतिशतसम्म छुट दिने निर्णय गरिएको संस्थाका अध्यक्ष राउतले बताए । आफ्ना सदस्यहरुलाई सुरक्षित रहँदै घरघरमै बस्न र अत्यावश्यक भए सम्पर्क नम्वरमा सम्पर्क गरेर सेवा सुविधा लिन समेत उनले अनुरोध गरेको जानकारी दिए ।
यसैबीच शिखर साकोसका कर्मचारीहरुले आफ्नो तलवबाट केही रकम कटाएर एकका लागि एक अभियानलाई अक्सिजन बैंक स्थापनाको लागि २ थान अक्सिजन सिलिन्डर सहयोग गर्ने निर्णय गरेका छन् । अहिलेको आवश्यकता अक्सिजन भएको हुँदा हामी कर्मचारीहरुको पनि समाजप्रति उत्तरदायित्व हुनुपर्छ भनेर सो सहयोग गरेको व्यवस्थापक लीलानाथ रेग्मीले बताए ।
सदस्य तथा समुदायप्रति चासो व्यक्त गर्दै बिर्तामोडस्थित विराट–अर्जुन उपभोक्ता सहकारी संस्थाले पनि सदस्यलाई ढाढस प्रदान गर्दै प्याकेज घोषणा गरेको छ । कोरोना लागेका आफ्ना संक्रमित सदस्यहरुलाई मनोबल उच्च राख्न अनुरोध गर्दै सो उपभोक्ता सहकारीले आफ्नो सिङ्गो परिवार सदस्य सेवामा रहेको विश्वास दिलाएको छ ।
कोभिड– १९ पोजेटिभ देखिएका सदस्यहरुलाई उपचारका लागि आवश्यक सम्पूर्ण प्रबन्ध गर्दै पोषिलो खानेकुरा सम्म प्रदान गर्ने संस्थाले विश्वास दिलाएको छ ।
Comments