Sajhamanch Archive

नेपालमा रोकिएका भारतीय नागरिकको आजदेखि उद्धार हुँदै

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज, by .

काठमाडौं । निषेधाज्ञा अगाडि काठमाडौं आएका भारतीय नागरिकको आजदेखि उद्धार हुँदैछ । सरकारले भारतीय नागरिकलाई साउदी अरब लैजान १० वटा चार्टर्ड उडानको अनुमति दिएपछि आजदेखि उनीहरु साउदी जाँदै छन् ।

उनीहरुलाई साउदी अरबको दमाम र रियाद लैजान नेपाल एयरलाइन्सलाई ७ र हिमालय एयरलाइन्सलाई ३ वटा चार्टर्ड उडानको अनुमति दिएको छ । सरकारको सोही निर्णय अनुसार नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले साउदी उडान गर्दैछन् । हिमालय एयरलाइन्सले आजै तीनै वटा उडान गरी भारतीय नागरिकलाई दमाम लैजाने छ ।

नेपाल वायुसेवा निगमले भने आजदेखि २२ गतेसम्म ५ दिनमा ७ वटा उडान गरेर दमाम र रियाद उडान गर्नेछ । निगमले रियाद ५ र दमाम २ उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

नेपालस्थित भारतीय दूतावासको सिफारिस पाएका भारतीय मात्रै यी चार्टर्ड उडानबाट साउदी अरब जान पाउनेछन् ।

भारतमा कोरोनाको दोस्रो लहरले ब्यापकता लिएपछि साउदी अरबले भारतीय नागरिकलाई साउदी जान दिएको थिएन । तर, नेपालबाट साउदी उडान भइरहेको समयमा भारतीय नागरिक नेपाल आएर साउदी गएका थिए । नेपालमा पनि कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञासँगै आन्तरिक तथा बाह्य उडानमा रोक लागेपछि उनीहरु काठमाडौंमै अलपत्र परेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *