एनएमसीमा तीन दिन तीज, आज धुलाबारीमा सम्पन्न
Published: (Updated: )
by .मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले विगत वर्षहरुमा झैँ यो वर्ष पनि समावेशी तीज कार्यक्रमलाई निरन्तरता दिएको छ ।
२०६७ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको समावेशी तीज मिलन कार्यक्रम संस्थाले यो वर्ष धुलाबारी, चारपाने र गोलधापमा आयोजना गरेको हो ।
हिन्दू नारीहरुको महान पर्व तीजको उपलक्ष्यमा बुधबार धुलाबारीमा आयोजित पहिलो दिनको कार्यक्रममा एक हजार हाराहारी महिलाको सहभागिता थियो ।
आफ्ना महिला शेयर सदस्यहरुलाई एक दिन भएपनि वर्षभरका पीडालाई भुलेर मल्हम लगाउन मद्धत गरोस् भनी संस्थाले बर्सेनी समावेशी तीज गर्दै आएको कार्यक्रमका अध्यक्ष भगवती घिमिरेले बताएकी छन् ।
मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उनले महिला सशक्तिकरणको दिशामा एनएमसीले विगतदेखि नै महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताइन् ।
नगर उपप्रमुख उप्रेतीले समावेशी तीज कार्यक्रमले महिलालाई अघि बढ्न सहयोग पुग्ने बताइन् । उनले हुँदा खाने र हुनेखाने बीचको खाडल पुर्नका निम्ति यस्ताखाले कार्यक्रमको आयोजना महत्त्वपूर्ण भएको बताइन् ।
सामुहिक दर खाने कार्यक्रमसंगै सामुहिक नृत्य, विभिन्न जातजातिको संस्कृति झल्कने नाच तथा विद्यार्थीले सांस्कृतिक नृत्य प्रस्तुत गरेर तीज मिलन कार्यक्रमलाई विशेष बनाएका थिए ।
मेचीनगर वडा नम्बर १० का अध्यक्ष सुदय पनेरुको विशेष उपस्थिति रहेको कार्यक्रममा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले विशेष मन्तव्य राख्दै संस्थाका उद्देश्य र लक्ष्यहरु बारेमा अवगत गराएका थिए ।
एनएमसी धुलाबारी कार्यालयगत समितिका कार्यवाहक संयोजक पवित्रा न्यौपानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन समिति सदस्य हेमा सिटौला र धुलाबारी कार्यालयका अपरेसन इन्चार्ज रिता श्रेष्ठले गरेका थिए ।
Comments