Sajhamanch Archive

भद्रपुर कोरोना अस्पतालका विरामीको चित्कारः खाना नपाइ मर्ने भइयो

Published: in मुख्य समाचार, समाज, स्वास्थ्य, by .

भद्रपुर । भद्रपुरस्थित कोरोना विशेष अस्पतालमा उपचाररत बिरामीहरूले आवश्यकता अनुसार समयमा खाना खान नपाएको गुनासो गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा गुनासो समेटिएको भिडियो राख्दै बिरामीहरुले रोगबाटभन्दा भोकबाट मर्ने अवस्था आएकोले ज्यान बचाइदिन अपील गरेका हुन् ।

रोगसित लड्न अतिआवश्यक र पोषिलो खानपानमा व्यवस्थापकीय कामजोरीले समयमा पाउन नसकिएको भिडियोमा गुनासो छ । अस्पतालमा उपचाररत बिरामीले रोगबाटभन्दा भोकले मर्नुपर्ने अवस्था आएकोले समाधानका लागि भिडियो अपील गरेका हुन् ।

कोभिड–१९ संक्रमणले सिकिस्त भएका विरामीमात्र उपचारका लागि पुग्ने कोरोना विशेष अस्पताल व्यवस्थापकीय लापरवाहीले अस्तव्यस्त बनिरहेको विषयमा यसअघि पनि धेरै चर्चा भइसकेको छ । अहिले पनि भोक सहेर बस्न नसकिने अवस्थामा पुगेको विरामीहरूको अभिव्यक्तिले व्यवस्थापकीय कमजोरी निरन्तर रहेको प्रष्ट हुन्छ ।

अस्पतलमा उपचाररत बिरामीहरूका अनुसार बिहानको खाजा ९ वजे पछाडिमात्र आइपुग्ने गरेको छ भने खाना मध्यान्न १ बजेपछि आउने गर्छ । खानपानको समय अनियमित हुँदा खानापछि खानुपर्ने औषधीको रुटिन पनि बिग्रिएर बिराम निको हुन ढिलाई हुने गरेको बताइन्छ ।

बिरामीहरूका लागि खाने, बस्ने व्यवस्थापन कमजोर रहेको सो अस्पतालमा उचित सरसफाई र पोषणयुक्त खानाको व्यवस्थापन कमजोर छ । अस्पतालमा रहेका बिरामीहरूले भिडियो मार्फत रोगबाट छिटो छुट्कारा पाउन समयमा खाना पाउने वातावरण बनाइदिन सरोकारवालासँग पटक पटक आग्रह गरेका हुन् । उनीहरूले रोगबाट होइन भोकबाट मनुपर्ने बाध्यकारी अवस्था अन्त्यको मागसमेत गरिरहेका छन् ।

यद्यपी केही दिन अघिमात्र अस्पताल प्रशासन र जनप्रतिनिधिहरुले कोरोना विशेष अस्पतालको अब्बल व्यवस्थापनका लागि बजेट व्यवस्थापन गर्ने र उपचारको उचित प्रबन्ध मिलाउने निर्णय गरको कुरा सामाजिक सञ्जालमा नै आएको थियो ।

यसैबीच, अस्पतालमा गएराति कोरोनाका कारण मृत्यु भएका एक व्यक्तिको लास नउठाइएकोले त्यहाँ उपचारार्थ रहेका कोरोना संक्रमित त्रसित बनेका छन् ।

पाँचथरबाट उपचारका लागि जेठ ५ गते ल्याइएका ६० बर्षीय कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको थियो । यो समाचार तयार पार्दासम्म उनको शब वेवारिसे हालतमा बेडमा नै रहिरहेको त्यहाँ उपचाररत एक विरामीले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *