कमलका संक्रमितको घरघरमा जनप्रतिनिधिः हातमा आइसोलेशन किट, पोषिलो खानेकुरा र चिकित्सकको परामर्श
Published:
by .कमल । पोषिलो खानेकुरा र स्वास्थ्य सामग्री लिएर स्वस्थ्यकर्मीसहित कमल गाउँपालिकाका जनप्रतिनिधि कोरोना संक्रमितको घरआँगनमा पुगेका छन् ।
आफ्नो पालिकामा कोभिड–१९ संक्रमित भएर होम आइसोलेसनमा रहेका नागरिकको स्वास्थ्य अवस्था बुझ्न होम आइसोलेसन किटसहित चिकित्सकहरु लिएर घरदैलो गरिएको अध्यक्ष मेनुका काफ्ले बताउँछिन् ।
गाउँपालिकाले आफ्नो स्रोतबाट सेनिटाइजर, मास्क, थर्ममिटर, औषधि, भिटामिन सी लगायतका सामग्रीको आइसोलेशन किट बनाएको छ । सोसँगै कारितास नेपालले पोषिलो खानेकुरा सहयोग गरेको छ ।
पोषिलो खानेकुरा र आइसोलेशन किटसहित जनप्रतिनिधि, चिकित्सक र मनोपरामर्शदाताको टोली संक्रमितको घरमा पुग्दा उनीहरुमा आत्मबल बढेको गाउँपालिका अध्यक्ष काफ्लेले बताइन् ।
कमल गाउँपालिका वडा नं. ५ र ६ मा कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेका ४१ जनालाई सामग्री प्रदान गर्नुकासाथै आवस्यक मनोपरामर्श तथा चिकित्सकीय सल्लाह दिइएको स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले जानकारी दिएका हुन् ।
गाउँपालिकाका ७ वटै वडामा रहेका संक्रमितको घरघरमा पुगेर सामग्री, मनोपरामर्श प्रदान गर्ने कार्यक्रम निरन्तर सञ्चालन गरिने शाखा प्रमुख अर्यालले बताए । यो समाचार तयार पार्दासम्म कमल गाउँपालिकामा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या २२३ जना पुगेको छ । संक्रमितमध्ये २ जनाको मृत्यु भएको स्वस्थ्य शाखाले जनाएको छ ।
Comments