Sajhamanch Archive

‘सकारात्मक सोच र आचरणका कारण एनएमसी उत्कृष्ट’ : नगरप्रमुख शिवाकोटी

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आफ्नो २७औं कार्यालय आजबाट बिर्तामोड नगरपालिका वडा नं. ३ सैनिकमोडमा सञ्चालनमा ल्याएको छ ।

बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा नयाँ सम्पर्क कार्यालयको उद्घाटन गरिएको हो । नवस्थापित कार्यालयको मुख्य द्वारमा टाँगिएको रिवन काटेर नगरप्रमुख शिवाकोटीले कार्यालयको उद्घाटन गरिदिएका हुन् ।

कार्यालय उद्घाटन पछि सम्बोधनका क्रममा उनले ‘आजको एनएमसी त्यत्तिकै नेपालकै उत्कृष्ट सहकारी बनेको नभई यसका सञ्चालक र कर्मचारीले बनाएको योजना तथा सिङ्गो टिमको सकारात्मक सोच र आचरणका कारण यो उदाहरणीय बनेको’ बताए ।

सकारात्मक र नकारात्मक सोच भएका मान्छेको भिडमा फरक छुट्याउन सक्नेहरु एनएमसीको सदस्य बनेर रचनात्मक अभियानमा प्रवेश गर्न सकिने पनि उनले औंल्याए ।

संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले संस्थाको प्रकृतिअनुसार बचत तथा ऋणको कारोबारसँगै विभिन्न सेवा र व्यावसाय सञ्चालन गरेर सदस्यलाई लाभ प्रदान गरिहेको सुनाए । उनले भने, ‘बैंकिङ व्यावसायबाट शुरु एनएमसीको यात्रा डेरी, नमूना कृषि परियोजना, कोप–सप र सदस्य स्वास्थ्य सेवासम्म विस्तारित हुँदैछ ।’

संस्थाका ५५ हजार हाराहारी सदस्यले चाहेका सबैखाले वित्तीय सेवा तत्कालै समाधान गर्नसक्ने हैसियत एनएमसीले बनाएको प्रष्ट पार्दै अध्यक्ष उप्रेतीले वित्तीय अनुशासनमा रहेकैले यो सम्भव रहेको दावी पनि गरे ।

करिब ६ अर्ब १७ करोड रुपैयाँको वासलात रहेको एनएमसीका ६७० जना सदस्यहरुले अब सैनिकमोडमा स्थापित कार्यालयबाट सेवा प्राप्त गर्न सक्नेछन् । सैनिकमोड सम्पर्क कार्यालयको नेतृत्व कुस्पना खरेलले गर्नेछिन् ।

बिर्तामोड कार्यालयगत समितिका संयोजक हरिप्रसाद आचार्यको अध्यक्षतामा बिर्तामोड कार्यालय प्रमुख भूपाल गौतमले सञ्चालन गरेको कार्यक्रममा पूर्वमन्त्री खगेन्द्र प्रसाईले सहकारी अभियानका विभिन्न पक्षबारे बोलेका थिए ।

बिर्तामोड कार्यालयगत समितिका सदस्य शान्ता रोक्काले आमन्त्रितहरुलाई शब्दले स्वागत गरेको कार्यक्रममा गरामनी कृषि सहकारी संस्थाका अध्यक्ष ताराप्रसाद चापागाईंले शुभकामना मन्तब्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *