Sajhamanch Archive

कङ्गोमा ज्वालामुखी विस्फोट, ज्यान जोगाउन हजारौँ नागरिक रुवान्डा पुगे

Published: in विश्व समाचार by .

काठमाण्डौ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोका अधिकारीहरूले ज्वालामुखी विस्फोट हुँदा फैलिएको लाप्काको असर गोमा सहर नजिकसम्म आइपुगको बताएका छन् ।

लाप्काका कारण कङ्गोको पूर्वमा रहेको सहर गोमाको उत्तरमा केही घरमा क्षति पुगेको अधिकारीहरूले बताएका छन् । ज्यान बचाउनका लागि भाग्ने क्रममा कम्तीमा पाँच जनाको ज्यान गएको छ । सहरको पूर्वमा रहेको विमानस्थल नजिक पुगेर लाप्का बग्ने क्रम रोकिएको बताइएको छ ।

२० लाख जनसङ्ख्या रहेको गोमा सहरबाट झन्डै १० किलोमिटरको दुरीमा ज्वालामुखी विस्फोट भएको हो । शनिवार माउन्ट निरागोन्गोमा ज्वालामुखी विस्फोट भएको थियो र त्यसबाट टनका टन लाप्का निस्किएर आसपास फैलिएको थियो ।

ज्वालामुखी विस्फोटपछि मानिसहरू आफ्नो सामान लिएर सडकमा भागेका देख्न सकिन्थ्यो । लाप्काबाट बच्न हजारौँ नागरिक छिमेकी देश रुवान्डातर्फ गएको र केही नागरिक सहरको पश्चिमी क्षेत्रतर्फ भागेको अधिकारीहरूले बताएका छ ।

ज्वालामुखी विस्फोटपछि झन्डै तीन हजार नागरिक सीमा पार गरेर रुवान्डा आएको त्यहाँका अधिकारीहरूले बताएका छन् । भागेर आएका नागरिकका लागि अस्थायी रूपमा विद्यालय र धार्मिक भवनमा व्यवस्था गरिएको रुवान्डाको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि सन् २००२ मा पनि कङ्गोमा ज्वालामुखी विस्फोट भएको थियो । त्यस बेला दुई सय ५० जनाको ज्यान गएको थियो भने हजारौँ घर नष्ट भएका थिए र एक लाख २० हजार नागरिक घरविहीन भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *