Sajhamanch Archive

घर बाहिर ननिस्कन बालबालिकलाई चिकित्सकको सुझाव

Published: in राष्ट्रिय समाचार, शिक्षा, समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । कोरोना भाइरस संक्रमणको उच्च जोखिम बढिरहेकाले घरबाट ननिस्कन बालबालिकलाई चिकित्सकले सुझाव दिएका छन् ।

बाल रोग विशेषज्ञ डा. प्रमोदकुमार रोयले बालबालिकाका लागि खोप पनि नबनेको प्रसंग उल्लेख गर्दै उनीहरु अत्यन्त जोखिम समूहमा रहेकाले घरबाट ननिस्कन सुझाएका हुन् ।

‘कोरोना महामारीः बालबालिकाको स्वास्थ्यमा प्रभाव, सुरक्षा र सावधानीका उपाय’ विषयमा भएको भर्चुअल छलफलमा डा. रोयले घरमा बस्नु नै संक्रमणबाट जोगिने उत्तम उपाय भएको बताए । संवाद समूह झापाले संयोजन गरेको छलफलमा झापासहित खोटाङ, मोरङ, सुनसरी जिल्लाका बाल सञ्जालका प्रतिनिधि, सञ्चारकर्मी, राजनीतिक दलका महिला नेतृहरुको सहभागिता थियो ।

भद्रपुर, बिर्तामोड, गौरादह, हल्दिवारी, कन्काई लगायतका क्षेत्रबाट सहभागी बालबालिकाले चिकित्सकलाई महामारीबाट बच्ने उपायका सन्दर्भमा विभिन्न जिज्ञासा राखेका थिए । डा. रोयले घरमा बस्दा बालबालिकालाई सेनिटाइजर प्रयोग नगर्न सुझाव दिएका छन् । बालबालिकाको छाला पूर्ण रुपमा विकास भइनसकेको हुनाले सेनिटाइजरले अरु समस्या उत्पन्न गर्ने उनको भनाइ छ । उनले सेनिटाइजरको सट्टा साबुनपानीले हात धुनु सबैभन्दा राम्रो हुने बताए ।

प्रोटिनयुक्त पोषिलो खानेकुरामा पनि विशेष ध्यान दिन बालबालिका तथा अभिभावकलाई आग्रह गरेका छन् । संक्रमण नियन्त्रणका लागि सरकारले जारी राखेको निषेधाज्ञाको अवधिमा कुनै पनि वहानामा बाहिर हिँड्डुल गर्न तथा छिमेकीकोमा समेत नजान डा. रोयले सल्लाह दिएका छन् । उनी बिर्तामोडस्थित अञ्जली हस्पिटलका बाल रोग विशेषज्ञ हुन् ।

छलफलमा भीमा शिवाकोटी, सावित्रा दाहाल, इन्दू पूर्वेली, कञ्चना ढकाल, कविता बास्तोला, उर्मिला पोखरेल, रञ्जु प्याकुरेल, निता घतानी, सुष्मा राजवंशी, सार्थक निरौला, पार्वता विमली खरेल, शेखर प्रसाईं लगायतले समेत विभिन्न जिज्ञासा राखेका थिए । संवाद समूहका सहजकर्ता अधिवक्ता खगेन्द्र खरेल र बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेलले छलफलको सहजीकरण गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *