भद्रपुर नगरपालिकाले बनायो आइसोलेशन सेन्टर
Published:
by .भद्रपुर । दोस्रो लहरको कोरोना भाइरस संक्रमण बढ्दै गएको बेला झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले अत्यावश्यक स्वास्थ्य सामग्रीसहित आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ ।
भद्रपुर १० को कलबलगुरी प्रशिक्षण केन्द्रमा २८ बेडको आइसेलेशन सेन्टर आजदेखि सञ्चालनमा ल्याएको हो । अघिल्लो वर्ष सोही केन्द्रमा नगरपालिकाले देशकै नमूनायोग्य क्वारेन्टिन सञ्चालन गरेको थियो ।
आइसोलेशन केन्द्रको एक संक्षिप्त कार्यक्रमका बीच प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरेका हुन् । आइसोलेशन केन्द्रमा ३ वटा अक्सिजन कन्सन्टेटर र दुईवटा अक्सिजन सिलिण्डरको व्यवस्था गरिएको नगरप्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए । यद्यपि, लक्षणसहितका सिकिस्त बिरामीलाई भने त्यहाँ नराखिने स्पष्ट पारिएको छ ।
कोरोना पोजिटिभ आएका तर सामान्य अवस्थाका संक्रमित, सुरक्षाका दृष्टिकोणले घरमै बस्न सक्ने अवस्था नभएका संक्रमितलाई सो आइसोलेशनमा राखिने बताइएको छ । आइसोलेशनका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, खानेपानी, विद्युत्, सरसफाई, सुरक्षा तथा स्वास्थ्यकर्मी परिचालन, आवश्यक यन्त्र उपकरण र खाद्यान्नको व्यवस्थापन गरिएको बताइएको छ ।
आइसोलेसन केन्द्रका लागि आवश्यक पर्ने थप अक्सिजनका सिलिन्डर, अक्सिजन कन्सन्टेटर, प्लस अक्सिमिटर, एम्बुलेन्स, शववाहन, एन्टिजेन किट, भिटिएम, पिपिई सेट, मास्क, ग्लोब, स्यानिटाइजर, सोडियम हाइपोक्लोराइडजस्ता सामग्री प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा माग गर्ने निर्णय पनि नगरपालिकाले गरिसकेको छ ।
Comments