Sajhamanch Archive

मेची अभियानद्वारा बेसाहारा बिरामीको उपचार सेवा सुरु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

भद्रपुर । झापाको भद्रपुर १० का ४६ वर्षीय रामलाल राजवंशी दुई वर्षयता मुटु रोगबाट पीडित छन् । सामान्य मजदुरी गरेर परिवार धान्नु पर्ने जिम्मेवारी भएका उनी रोगले थलिएर ओछ्यान परेका छन् । श्रीमतीले जनमन गरेर ल्याएको ज्यालाले दुई छोरासहित परिवार जसोतसो चलिरहेको छ । तर रकम अभावले पहिल्लो पटक २०७७ माघयता स्वास्थ्य उपचारका लागि विशेषज्ञ सेवा लिन पाएका छैनन् । राजवंशीलाई अब अस्पतालको मुखै देख्न नपाई मरिने त होइन भन्ने चिन्ता छ ।

उनी सम्झन्छन्— विगतमा अटो रिक्सा चलाउँदा राम्रै आम्दानी हुन्थ्यो । तर आफ्नो रक्सी पिउने र चुरोट सेवन गर्ने लतले रकम बचाउन सकिएन । त्यसैका कारण आफूलाई कहिल्यै निको नहुने गरी मुटुको रोग लागेछ । छाती दुख्ने र स्वास फेर्न गाह्रो भएपछि अस्पताल पुगेका उनीले परीक्षणका क्रममा दुई वटा दीर्घ रोग रहेको थाहा पाएः मधुमेह (चिनीरोग) र मुटु रोग । रोगले च्यापेको थाहा पाएका राजवंशीलाई रक्सी र चुरोटबाटै आफू रोगी भएको अनुभव त भयो तर अझै कुलत छुटाएको छैनन् ।

यसैबीच, राजवंशीजस्तै दीर्घ रोगीहरू जो कोभिड–१९ को सङ्क्रमणका डरले उपचार सेवा लिन अस्पताल जान पाएका छैनन्, उनीहरुका लागि मेची अभियानले विशेषज्ञ सेवा सुरु गरेको छ । मेचीनगरको वाहुनडाँगी र भद्रपुरको चन्द्रगढीबाट दीर्घ रोगीको उपचारका लागि विशेषज्ञ डाक्टरहरूबाट अनलाइन परामर्श तथा उपचार सेवा आरम्भ गरिएको हो ।

“हामी जुट्छौँ फेरि उठ्छौँ” भन्ने नारासहित अभियानले कोभिड सङ्क्रमणबाट पीडित उपचारविहीन तथा विभिन्न दीर्घ रोगको उपचार नपाएकाहरूलाई घर घरमा गएर विशेषज्ञ सेवा दिन थालेको हो । अभियानले राजवंशीलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डाक्टर सञ्जीवकुमार शर्मासित भर्चुअल जोडिदिएको थियो ।

आफ्नो रोग र समस्या बारे खुलेर बताएका राजवंशीलाई डा. शर्माले रक्सी र चुरोट नछोड्ने हो भने जति उपचार लिए पनि स्वास्थ्य अवस्था सामान्य बनाउन नसकिने चेतावनी दिनु पर्यो । हुन त राजवंशीलाई दुई वर्ष अगाडि मुटुरोग विशेषज्ञ डा. राजेश नेपालले पनि यही भनेका थिए रे ।

आज बल्ल ‘महसुस’ भएको बताउने उनको स्वास्थ्य परीक्षका लागि सवै प्रकृया मेची अभियानले गरिदिने जिम्मा लिएपछि धुम्रपान—मध्यपान त्याग्न तयार राजवंशी उपचारबाट स्वास्थ्य अवस्था सहज हुने आशमा छन् ।

राजवंशी जस्तै भद्रपुर १० केन्द्रमोड सुकुम्बासी बस्तीकी ३० वर्षीया सुनिता बेस्राले पनि अनलाईन सेवा लिएकी छन् । गत वर्षबाट पेट फुल्ने गरेको तथा तल्लो पेट दुख्ने गरेको समस्याले उनी ग्रस्त छिन् । सुनिताले स्थानीय अस्पतालमा परीक्षण गराउन जाँदा पाठेघरमा पानी जमेकोले तत्काल अप्रेसन गनुपर्ने डाक्टरको सल्लाह थियो ।

उनले अप्रेसन गर्न लाग्ने खर्च जुटाउन नसकेपछि रोग सहेर ओछ्यान रोज्नु परेको उनको भनाई छ । दैनिक ज्यालादारी गरेर जीवन गुजारा गर्नुपर्ने परिवारकी सुनिताको उपचार पनि मेची अभियानले गरिदिने प्रबन्ध मिलाएपछि जीवनको माया मारेकी सुनितामा उर्वर जवानी लिएर संघर्षको मैदानमा फर्कन सक्ने आशा पलाएको छ ।

समाचारमा उल्लेखित यी दुई पात्र समाजका प्रतिनिधि पात्रमात्र हुन् । सयौं श्रमजीवि वर्गका नेपालीहरूको अवस्था यस्तै छ । विरामी भएपछि रकम अभावमा मर्नुपर्ने बाध्यता जिवन्त छ । सहयोगी हातहरू भएनन् भने रोगसित लड्न अस्पतालको मुख नदेखी धर्तीबाट विदा हुनुपर्ने बिडम्वना छ । यस्तो परिस्थितिका माझ झापाको मेची किनाराबाट सुरू भएको मेची अभियानले साहारा विहीन रोगीको उपचारको सारथी बन्ने प्रयास गरिरहेको पाइन्छ ।

अभियानका चन्द्रगढी संयोजक सोमप्रसाद ढुङ्गेलका अनुसार बिरामीको आवश्यकता अनुसार अभियानले विशेषज्ञ सेवा दिइरहने छ भने औषधी र प्रयोगशाला परीक्षण पनि निरन्तर सञ्चालन गरिने छ । एक जना अर्बुद रोगी, अर्को मुटु तथा दम र अर्को स्त्री रोग पीडितले कोभिड संक्रमण त्रासले अस्पताल पुगेर सेवा लिन नसकेपछि डा। शर्माले अनलाइनबाट उपचार सेवा दिएको संयोजक ढुङ्गेलले जानकारी दिए ।

‘‘हामी जुट्छौँ फेरि उठ्छौं’’ भन्ने नारा दिइएको कार्यक्रम सञ्चालन भएको पहिलो दिन नै भद्रपुरका ३ जना दीर्घ रोगीलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विशेषज्ञ डा. शर्माले काउन्सिलिङ गरेका थिए । उनीहरुमध्ये एकजना अर्बुद रोगी, अर्को मुटु तथा दम र अर्को स्त्री रोग समस्या भएका बिरामी थिए । तिनलाई डा. शर्माले अनलाइनबाट उपचार सेवा दिएको संयोजक ढुङ्गेलले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *