Sajhamanch Archive

कोरोनाबाट उर्लाबारीमा एक सातामा एकै परिवारका दुई जनाको निधन

Published: in समाज, स्थानीय तह by .

झापा । मोरङको उर्लाबारीमा कोरोना संक्रमणबाट एक साताभित्रै एकै परिवारका दुई जनाको निधन भएको छ ।

कोरोना संक्रमणबाट उर्लाबारी–२ मा उर्लाबारीका पूर्व गाविस उपाध्यक्ष कुमार धिमालको उनका छोरा तेजबहादुर धिमालको पाँच दिनको अघिपछि निधन भएको हो ।

२०५४ सालदेखि २०५८ सालसम्म उर्लाबारी गाविसका उपाध्यक्ष रहेका धिमालको जेठ १२ गते कोभिडको संक्रमणका कारण बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको थियो । कोरोना संक्रमित उनका छोरा ४७ वर्षीय तेजबहादुरको पनि आज सोही अस्पतालमा उपचारका क्रममा निधन भएको उर्लाबारी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

धिमाल जाति विकास केन्द्रका केन्द्रीय महासचिव मातृका धिमालका अनुसार परिवारका जेठो छोरा तेजबहादुरलाई सबैभन्दा पहिले कोरोना देखिएको थियो । उनलाई अस्पताल भर्ना गरेको एक सातापछि बाबु कुमार धिमालमा संक्रमण देखिएको थियो ।

धिमाल संस्कृति अनुसार बाबुको दाहसंस्कार भएको स्थल स्थानीय सालबारी बन क्षेत्रमै छोराको पनि अन्त्येष्टी गर्ने तयारी भईरहेको छ । तेजबहादुर खाद्यान्न व्यवसायी हुन् ।

योसँगै उर्लाबारीमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *