सगरमाथा साहित्य प्रतिष्ठानद्वारा बर्सेनी सगरमाथा वर्ष पुरस्कार दिनेगरी अक्षयकोष स्थापना
Published:
by .दुवई । परदेशमा रहेर लामो समयदेखि साहित्यिक गतिविधि गर्दै आएको सगरमाथा साहित्य प्रतिष्ठानले अक्षयकोष स्थापना गरेको छ ।
संस्थाको भर्खरै सम्पन केन्द्रीय समितिको बैठकले आगामी दुई वर्षभित्र लक्ष्य पूरा गर्ने गरी १० लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो ।
कोष स्थापना भएपछि साहित्य, कला तथा सङ्गीत क्षेत्रमा आवद्ध कुनै संस्था वा ब्यक्तिलाई योगदानको मूल्याङ्कनका आधारमा सम्मानसहित पुरस्कार दिने घोषणा गरिएको छ ।
पुरस्कार तथा पुरस्कारको राशी रकमबारे पछि बनाइने पुरस्कार वितरण सम्बन्धी मापदण्डमा विस्तृत उल्लेख गरिने केन्द्रीय महासचिव डिजी शर्माले जानकारी दिएका छन् । संस्थाको स्थापना दिवसको अवसर पारेर हरेक वर्ष प्रदान गरिने सो पुरस्कारको नाम सगरमाथा वर्ष पुरस्कार राखिएको उनले बताए ।
युएईमा मुख्य कार्यालय रहेको संस्थाले अक्षयकोषका लागि संस्थाका केन्द्रीय सदस्य तथा पदाधिकारी र अन्य ब्यक्ति, संघसंस्थाबाट रकम संकलन गरिने जनाएको छ ।
अक्षयकोषको रकम संकलन, ब्यवस्थापन र सञ्चालनको लागि तत्कालको लागि संस्थाका केन्द्रीय सचिव डिएल घिमिरेको संयोजकत्वमा केन्द्रीय सहसचिव सुजन सिरेङ चोङ्बाङ लिम्बू र केन्द्रीय सदस्य रविन दर्लामी मगर सदस्य रहेको तीन सदस्यीय अक्षयकोष ब्यवस्थापन समिति बनाइएको केन्द्रीय महासचिव शर्माको भनाई छ ।
अक्षयकोष स्थापनाको घोषणासँगै यो समाचार तयार गर्दासम्म प्रतिष्ठानका १० जना अगुवा जिम्मेवारहरुबाट दुई लाख ९६ हजार रुपैयाँ कबुल गरिएको केन्द्रीय महासचिव शर्माले जानकारी दिएका छन् ।
Comments