कुटपीटको आरोपमा जसपाका नेता पक्राउ
Published:
by .झापा । जनता समाजवादी पार्टी (जसपा) का नेता केवलराम राईले स्थानीय एक महिला र खानेपानी कर्मचारीलाई कुटपीटको आरोपमा पक्राउ परेका छन् ।
जनता समाजवादी पार्टी प्रदेश नं. १ सदस्य राईलाई मेचीनगर–६ रमाइलो बस्तीकी २६ बर्षीय लक्ष्मी लिम्बू र काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा कार्यरत कर्मचारी धिरेन सुब्बामाथि सांघातिक आक्रमण गरेको आरोपमा बिहीबार साझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।
राईसहित ६ /७ जना युवाहरुको समुहले बुधबार बेलुकी ९ः४५ बजेको समयमा लिम्बूको घरमै गई कुटपीट गरेको साथै कर्मचारी सुब्बालाई खानेपानी कार्यालयको आवास गृहमै गएर कुटपीट गरेको आरोपमा पक्राउ गरिएको प्रहरी जनाएको छ ।
पक्राउ परेका राईलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
आफ्ना कर्मचारीमाथि कुटपीट गर्ने जत्थालाई कारवाही गर्न माग गर्दै खानेपानी संस्थाले इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बिहीबार मुद्धा दर्ता गराएको थियो ।
पक्राउ परेका आदिवासी जनजाति नेता राई किरात राई यायोक्खा झापा जिल्ला सचिवलगायत अन्य संघसंस्थामा पनि आबद्ध छन् ।
Comments