प्रदेश नम्बर २ को प्रदेशसभा बैठक अवरुद्ध
Published:
by .जनकपुरधाम । प्रदेश नम्बर २ को प्रदेशसभा बैठक प्रतिपक्षी दलका सांसदहरुले नै अवरुद्ध गरेका छन् । मंगलबारको बैठक तीन प्रतिपक्षी दलका सांसदले अवरुद्ध गरेका छन् ।
प्रदेश सरकारले गलत नियतले पालिकाहरुमा ससर्त अनुदानको रकम पठाएको भन्दै नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्यले बैठक अवरुद्ध गरेका हुन् ।
सभामुख सरोज यादवले प्रदेशसभा बैठक सुरु गरेलगत्तै तीनै दलका सांसदहरु आसनबाट उठेका थिए । त्यसपछि एमालेका सांसद सुन्दरबहादुर विश्वकर्माले प्रदेश सरकारले ससर्त अनुदानको रकम मनपरी ढंगले पठाएको भन्दै आपति जनाए ।
हामीले पटक पटक सम्बन्धित प्रदेशसभा सदस्यको सिफारिस र परामर्शमा रकम पठाउन भनेका थियौँ, उनले भने, तर, त्यसको कुनै सुनवाइ भएको छैन ।
माओवादी केन्द्रका सांसद रामकुमार यादवले पनि पालिकाहरुमा पठाएको अनुदानको रकम प्रदेशसभा सदस्यहरुको सिफारिसमा खर्च हुनुपर्ने धारणा राखे । उनले मुख्यमन्त्री लालबाबु राउतले पटक(पटक आश्वासन दिए पनि त्यसो नगरेकाले सदन चल्न नदिने चेतावनी दिए ।
एमाले संसदीय दलका नेता शत्रुधन महतोले मुख्यमन्त्री राउत आएर प्रदेशसभामा जवाफ नदिएसम्म बैठक चल्न नदिने बताए ।
सभामुख यादवले सांसदहरुको धारणा सुनेपछि सरकारको ध्यानाकर्षण भएको भन्दै बैठक चल्न दिन आग्रह गरे । तर, प्रतिपक्षी सांसदहरु नमानेपछि सभामुखले एक घण्टाका लागि बैठक स्थगित गरेका छन् ।
Comments