काँकरभिट्टा बसपार्क क्षेत्रमा टहरा निर्माणको विरोधमा १४ व्यवसायी संघ, नगरप्रमुख भन्छन् फुटपाथ व्यवस्थापनको पूर्व प्रतिवद्धता अनुसार काम गरिँदै
Published:
by .मेचीनगर । नेपालको पूर्वी ढोका काँकरभिट्टास्थित बसपार्क क्षेत्रमा नगरपालिकाले निर्माण गराइरहेको टहराले बसपार्क क्षेत्र साँघुरो हुने जिकिर गर्दै व्यवसायीहरुले विरोध जनाएका छन् ।
यातायात व्यवसायीहरुको अग्रसरतामा होटल व्यवसायी तथा टुर एण्ड ट्राभल्स व्यवसायी गरी १४ वटा व्यवसायी संघका अध्यक्षहरुले आज संयुक्त प्रेस विज्ञप्त प्रकाशन गरी नगरपालिकाको कार्यको विरोध जनाएका हुन् । नगरपालिकाले सरोकारवालाहरुसँग कुनै समन्वय र परामर्श नै नगरी बसपार्क क्षेत्र साँघुरो बनाउदै तीन दर्जन सटर कोठा निर्माण गरिरहेको घटनाले हो ।
संयुक्त प्रेस विज्ञप्तीमा फुटपाथ पसले, खुद्रा व्यापारीलगायतलाई व्यवस्थापनका गर्नका लागि भनी भइरहेको निर्माण कार्य तत्काल बन्द गर्न भनिएको छ । उनीहरुले अन्य धेरै विकल्प हुँदाहुँदै नगरपालिकाले लकडाउनको अवसर छोपेर गराइरहेको यस्तो कार्यको भत्सर्ना पनि गरेका छन् ।
२०५४–५५ सालतिर तत्कालिन ग्रामीण आवास कम्पनीले देवकोटा पार्क र बसपार्क क्षेत्र प्लटिङ्ग गरी व्यक्तिका नाममा बिक्री वितरण गर्न खोज्दा भविष्यको चिन्ता गर्ने स्थानीय युवा तथा प्रबुद्ध वर्ग, यातायात क्षेत्रसँग सम्बन्धित संघ–संस्था तथा व्यवसायी, कर्मचारीहरुको तीब्र विरोधका कारण जोगिएको थियो । पछि फुटपाथमा व्यवसाय गर्ने खुद्रा पसल व्यापारीलाई उपलब्ध गराउन भनेर बसपार्कको उत्तरतर्फ २६ वटा सटर कोठाहरु नगरपालिकाबाट निर्माण गरी न्यून भाडादरमा उपलब्ध गराइएको छ । गतवर्ष एसियन हाईवे निर्माणसँगै काँकरभिट्टाको सुन्दरता वृद्धि भएको छ । योसँगै राजमार्ग विस्तार भएकाले त्यहाँ अव्यवस्थित पार्किङ्ग हुने गरेका साना सवारी साधनका लागि पार्किङ्गस्थल अभाव भएको विज्ञप्तीमा उल्लेख छ ।
यसैबीच, नगरपालिकाले मेचीनगर–६ काँकरभिट्टा बजार क्षेत्रबाट हटाइएका फुटपाथ पसलेहरुका लागि बसपार्क क्षेत्रमा टहरा बनाएर प्रदान गर्ने उद्देश्यले उक्त काम भइरहेको जनाएको छ । काँकरभिट्टा बजार क्षेत्रमा विशेष गरी बसपार्क तथा सो क्षेत्रका सडक साथै एसियन हाइवे विस्तार गर्ने क्रममा विस्थापित सडक पेटीमा पसल थापेर बस्नेहरुलाई हाल निर्माण भइरहेको टहरामा पुनःस्थापित गरिने नगर प्रमुख विमल आचार्यले बताएका छन् ।
काँकरभिट्टा क्षेत्रका सडकमा थापिने अव्यवस्थित पसलहरुका कारण शहरको सौन्दर्यता नै बिगारेको भनी नगरपालिकाले गतवर्ष सडक पेटीमा रहेका सबै पसलहरु हटाएको थियो । नगर प्रमुख आचार्यले फुटपाथमा पसल गर्नेहरुसँग भएको पूर्व सम्भौता अनुसार नै उनीहरुको समुचित व्यवस्थापनका लागि काँकरभिट्टास्थित नेपाल बैंक लिमिटेडको भवन पछाडि रहेको खाली जग्गामा हाल टहरा निर्माण गर्ने कार्य भइरहेको प्रष्ट पारेका छन् ।
तात्कालिन समयमा नगरका राजनीतिक दलका प्रतिनिधिसमेत बसेर खुद्रा व्यापार संघमा आवद्ध भएकाहरुका लागि सुरक्षित स्थानमा राखिने गरी भएको मौखिम सम्झौता अनुसार उनीहरुको व्यवस्थापनका लागि उक्त टहराहरु निर्माण गरिएको नगरप्रमुख आचार्यको भनाई छ ।
‘बसपार्क क्षेत्रमा निर्माण भइरहेको टहराको विषयमा भइरहेको नकरात्मक टिप्पणीतर्फ संकेत गर्दै आचार्यल भने ‘फुटपाथका पसलेहरुसँग सहमति अनुसार नै हटाउने काम भएको थियो । सोही प्रतिवद्धता अनुसार नगरपालिकाले बसपार्क क्षेत्रमा टहरा निर्माण गरिरहेको छ ।’
Comments