तीन वर्षभित्र सबैका घरमा धारो, असोज १ गतेदेखि बिर्तामोडबासीले धाउनु पर्दैन पंधेरो
Published:
by .बिर्तामोड । खानेपानी मन्त्री बिना मगरले तीन वर्षभित्र घर–घरमा आधारभूत पानी पुर्याउने सरकारी लक्ष्य रहेको बताएकी छन् ।
यहाँस्थित बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई संस्थाको नवर्निमित पानी प्रशोधन उपकरण (फिल्टर प्लान्ट)–को आज उद्घाटन गर्दै मन्त्री मगरले सरकारी लक्ष्य सुनाएकी हुन् ।
नेपाल जलस्रोतमा दोस्रो धनी देश हो, तर, पानीकै लागि नेपालीले धेरै समस्या भोग्नु परेको छ, खानेपानी मन्त्रालयले तीन वर्षभित्र सबै नेपालीको घरमा आधारभूत पानी पुर्याउने लक्ष्यका साथ गृहकार्य गरिरहेको उनको दावी छ ।
संविधानमा शुद्ध खानेपानीलाई मौलिक अधिकारका रुपमा उल्लेख गरिएकाले शतप्रतिशत नेपालीको घरमा शुद्ध खानेपानी पुर्याउने लक्ष्यका साथ सरकार अघि बढिरहेको मन्त्री मगरले बताइन् ।
दुषित पानी कै कारण ८० वटा भन्दा बढी रोग लाग्ने गरेको भन्दै मन्त्री मगरले सरकारले शुद्ध खानेपानीमा ध्यान दिनुपर्नेमा पनि जोड दिइन् ।
अघिल्ला सरकारले खानेपानीलाई प्राथमिकता नदिएको आरोप लगाउँदै उनले ‘सरकारले औषधि खरीद गर्न रकम खर्चियो तर रोग लाग्नुको प्रमुख कारण दुषित पानी भए पनि त्यसतर्फ ध्यान दिएन ।’
मन्त्रालयले देशभरका खानेपानी डिभिजन कार्यालयहरुबाट तथ्यांक संकलन गरिसकेको जानकारी गराउँदै मन्त्री मगरले ‘तथ्यांक हेर्दा भयावह अवस्था देखिन्छ । त्यसैले ‘तथ्यांकको आधारमा कार्यायोजना बनाएर अघि बढिरहेको छौँ ।’
सरकारले एक घर एक धाराको अवधारणा अनुरुप काम अघि बढाए पनि लक्ष्य हासिल गर्न कठिन भइरहेको उनको गुनासो छ ।
झापाको मेची, कनकाईलगायत नदीहरुको पानीलाई व्यावसायिकरण गर्ने योजना सुनाउँदै उनले आठ वटा ‘वाटर ब्लक’ निर्माणको तयारी भइरहेको जानकारी दिइन् ।
मुलुकमा साना सहरी खानेपानी आयोजनाहरु सफल भएको देखिएकाले यस्तै मोडलका कार्यक्रमहरु ल्याइने उनको भनाई छ
संस्थाका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा यही असोज १ गदेखि बिर्तामोड नगर क्षेत्रमा २४ घण्टा नै पानी वितरण गरिने जानकारी पनि दिइयो ।
‘सीमित स्रोत–साधान– भएकाले केही समस्या छ’, अध्यक्ष गुरुङले भने, ‘सरोकारवाला लगायत सबैले सहयोग गर्न आवश्यक छ ।’
कार्यक्रममा प्रतिनिधिसभाका सांसद पवित्रा निरौला खरेल, प्रदेश सांसद एकराज कार्की, झलकसिंह दर्लामी, नगरप्रमुख ध्रुवकुमार सिवाकोटी लगायतले मन्तव्य राखेका थिए ।
खानेपानी मन्त्रालयले उपलब्ध गराएको ५५ लाख रुपैयाँको लागतमा पानी प्रशोधन उपकरणबाट दैनिक १३ हजार ५० हजार लिटर पानी प्रशोधन हुने संस्थाका सचिव मेघराज बाँस्तोलाले जानकारी दिए ।
बिर्तामोड साना सहरी खानेपानी अन्तरगत ६ हजार १०० उपभोक्ता छन् । तीन वटा पानीट्यांकी, एउटा डीप बोरिङ, छ वटा फिल्टर प्लान्ट छन् ।
नवनिर्मित फिल्टर प्लान्टसँगै अब दैनिक ४७ लाख लिटर पानी प्रशोधन हुने संस्थाले जनाएको छ ।
Comments