Sajhamanch Archive

म्याग्दी सदरमुकाम बेनीसहित चार मुख्य बजार जोखिममा

Published: in मिडियाबाट साभार, समाज, by .

काठमाडौं । बाढी र पहिरोले म्याग्दीमा एकसय घर परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

गत वर्षको बाढी पहिरोबाट ३१ जनाको मृत्यु र ४ जना बेपत्ता भएको म्याग्दीमा २४७ वटा घर पूर्ण रुपमा भत्किएका थिए भने ८१ ओटा बस्तिका सातसयभन्दा बढी घर पहिरोका कारण जोखिममा परेका थिए । वर्षा सुरु भएसँगै यसवर्ष पनि म्याग्दीमा बाढी पहिरोले वितण्डा मच्चाएको छ ।

कालिगण्डकी र सहायक खोलाहरुमा आएको बाढी तथा पहिरोले तटबन्ध भत्काउँदा म्याग्दी सदरमुकामसहितका चार मुख्य बजार उच्च जोखिममा छन् । कालीगण्डकीमा आएको बाढीले बेनीको काली पुल, संगमचोक, अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग–तातोपानीमा कटान गरेको छ । तटबन्ध भत्किएपछि कालीगण्डकीको भंगालो बजारतर्फ सोझिएर कटान गर्न थालेको छ । एकहजार भन्दा बढी घरधुरी रहेको बेनी बजारमा ३० भन्दा बढी सरकारी कार्यालयका भवन छन् ।

बेनीको संगमचोक र कालीपुल बसपार्क क्षेत्रमा मंगलबार राति कालीगण्डकीले करिब ३० मिटर तटबन्ध बगाएर बजारतर्फ कटान गर्न थालेको स्थानीय ठाकुरप्रसाद शर्माले जानकारी दिए ।
अर्थुङ्गे र जामुनाखर्कको पाखोबाट आएको बाढीले बेनीको क्याम्पसचोक, अस्पताल चोक र कालीपुल बसपार्क क्षेत्रमा क्षति पुर्याएको स्थानीय ब्यापारी रुद्र सुबेदीले बताए ।

गत शनिबार कुरिलाखर्क, महारानी थानदेखि बेनी–अर्थुङ्गे सडकबाट आएको बाढी पसेर मंगलाघाटमा रहेको डिभिजन वन कार्यालय, भू–संरक्षण कार्यालय र कृषि ज्ञान केन्द्रको आवासक्षेत्रका सातओटा भवनसँगै नर्सरीमा क्षति पुर्याएको थियो । केही दिनदेखिको निरन्तरतको वर्षापछि कालीगण्डकी, म्याग्दी र राहुघाटलगायत म्याग्दीका मुख्य र सहायक नदीहरुमा आएको बाढीले खतराको तह नाघेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिकाको शिख, बेनी नगरपालिकाको बगरफाँट, डम्मरा, रत्नेचौर, अर्थुङ्गे, डाडाखेत, तातोपानी, मालिकाको दरबाङ्ग र धवलागिरीको खोरियाका करिब एकसय घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिए ।

माथिल्लो क्षेत्रमा गएको पहिरो मिसिने मुख्य नदीहरुमा बाढीको बहाव बढेर तटीय क्षेत्रमा कटान बढेको छ । कटान, बाढी र पहिरोले सदरमुकाम बेनी, ग्रामीण बस्तीसँगै प्रदेश राजधानी पोखरासँगको यातायात सम्पर्कबिच्छेद भएको छ ।

गत वर्षको पहिरोले क्षति पुर्याएको निजी आवास र सार्वजनिक पूर्वाधारको पुननिर्माण नसकिँदै सुरु भएको वर्षातले थप क्षति गर्न थालेपछि बिपद् ब्यवस्थापनमा चुनौति थपिएको जिल्ला विपद व्यवस्थापन केन्द्रले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *