Sajhamanch Archive

रोनाल्डो घटनापछि कोकाकोला कम्पनीको बजार भाउ चार अर्बले घट्यो

Published: in खेलकुद, मिडियाबाट साभार, विश्व समाचार, by .

काठमाडौं । युरो २०२० को प्रेस सम्मेलनमा सोमबार विश्व चर्चित फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले दिक्क मानेजसरी दुईवटा कोकाकोलाको बोतल आफ्नो अगाडिबाट हटाएका थिए, त्यो वास्तवमा यो समारोहको सबैभन्दा प्रमुख स्पन्सर थियो ।

कोकको बोतल हटाएर उनले पोर्चुगिज भाषामा ‘पानी’ भन्दै पानीको बोतल बीचमा राखेका थिए, यो घटना अहिले सबैतिर चर्चामा आएको छ ।

यसरी युरोपियन च्याम्पियनसिपको प्रेस सम्मेलन सकिँदासम्म कोकाकोलाको सेयर मूल्य १.५ प्रतिशतले घटेको थियो । यसले कम्पनीको बजार भाउमा थप प्रभाव पार्दा चार अर्बसम्म गिरावट आएको बताइएको छ ।

यस घटनाबारे युरो २०२० का प्रवक्ताले भनेका छन्, “खेलाडीहरुलाई पानीसँगै कोकाकोला र ‘कोकाकोला जिरो सुगर’ प्रदान गरिएको थियो । र, यसमा सबैलाई आफ्नो इच्छाअनुसारको पेयपदार्थ छनोट गर्ने अधिकार छ ।”

रोनाल्डोसँग सम्बन्धित यस घटनालगत्तै अर्का खेलाडी फ्रान्सका पल पोग्बाले पनि उनलाई पछ्याउँदै प्रेस सम्मेलनकै समयमा ‘हेइनेकेन बियर’को बोतल आफ्नो अगाडिबाट हटाएर टेबलको तल राखिदिएका थिए । यसो गर्दैगर्दा उनले केही बोलेका छैनन् । यो घटनालाई रोनाल्डोसँग जोडेर अधिक चर्चा भइरहेको छ ।

स्वास्थ्य र फिटनेसप्रति समर्पित रहनमा रोनाल्डो प्रख्यात मानिन्छन् । यसअघि, उनले दिनमा पाँचपटक खाने गरेको र पाँचचोटि दिउँसो ‘न्यप लिने’ अर्थात् छोटो अवधिका लागि सुत्ने गरेको पनि आफैँले खुलासा गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *