Sajhamanch Archive

गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति, by .

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज सदनमा विश्वासको मत लिँदै छन् । गएको शनिबार गठित नेपाली कांग्रेसका पोखरेल नेतृत्वको चारदलीय गठबन्धन सरकारले विश्वासको मत लिन लागेको हो ।

आज बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा उक्त प्रस्तावमाथि छलफल र मतदान हुने कार्यसूची रहेको संसद् सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।

गण्डकी सरकारका प्रवक्ता कुमार खड्काका अनुसार विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवालयमा मंगलबार नै दर्ता भइसकेको छ । संविधानको धारा १६८ (५) अनुसार बनेको सरकारले उपधारा ६ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

स्वतन्त्र एकसहित ३१ सांसदको समर्थनमा बनेको सरकारले विश्वासको मत लिएपछि मात्रै बजेटमाथिको छलफल सुरु गर्ने तयारी छ । कुल ६० सदस्यीय गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका कृष्ण थापा पदमुक्त भएपछि सांसद संख्या ५९ कायम भएको छ ।

मुख्यमन्त्री पोखरेलले सरकार जोगाउनको लागि अहिलेको स्थितिमा ३० सांसदको विश्वास प्राप्त गरे पुग्छ । विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्को कार्यविभाजन र विस्तार हुने प्रवक्ता खड्काले जानकारी दिए ।

विश्वासको मत लिएपछि मात्रै चार मन्त्रीको कार्यविभाजन, मन्त्रिपरिषद् विस्तार तथा बजेटमाथि छलफल सुरु गरिने तयारी छ । यहाँ मन्त्रिपरिषद् विस्तार गर्न सहज छैन । गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसभित्र नै मन्त्रीका आकांक्षी धेरै छन् । नेकपा (माओवादी केन्द्र)को हालत पनि उस्तै छ ।

दुई सांसद रहेको जसपाबाट हरिशरण आचार्य मन्त्री भइसके पनि जिम्मेवारी पाएका छैनन् । जसपाकी अर्की सांसद धनमाया पोखरेल लामाले पनि मन्त्री बन्नुपर्ने अडान लिएकी छन् ।

अर्कातर्फ, कार्यविभाजनमा सबैको आँखा भौतिक र अर्थ मन्त्रालयमा परेको छ । कांग्रेसले अर्थ मन्त्रालय राख्ने देखिएता पनि भौतिकमा जसपा, माओवादी र स्वतन्त्र दीपक मनाङेको दाबी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *