Sajhamanch Archive

विद्यालयले आफ्नो अनुकूलतामा कक्षा ११ को विद्यार्थी मूल्यांकन गर्न सक्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा, by .

काठमाडौं । विद्यालयहरुले आफ्नो अनुकूलतामा कक्षा ११ को विद्यार्थी मूल्यांकन गर्न सक्ने भएका छन् । गत वर्ष राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ अनुसार विद्यालयले विद्यार्थीको मूल्यांकन गर्नुपर्नेछ ।

कार्यविधिभित्र रहेर विद्यालयले आफ्नो अनुकूलतामा मूल्यांकन गर्न सक्ने राष्ट्रिय परीक्षा बोर्डका सदस्य–सचिव दुर्गा अर्यालले जानकारी दिए । उक्त कार्यविधिमा असार मसान्तसम्म मूल्यांकन सक्नुपर्ने भनिए पनि यो वर्ष विद्यालयले आफ्नो परिस्थिति अनुकूल मूल्यांकन गर्न सक्ने उनले बताए ।

गत वर्ष लगभग विद्यार्थीको पढाइ पूरा भएको थियो । त्यसैले मूल्यांकन समय असार मसान्त तोकिएको थियो । तर यो वर्ष त्यस्तो अवस्था रहेन । त्यसैले साउनसम्म पनि गर्न सक्नेछन्,’ उनले भने । कार्यविधिमा विद्यालयले वार्षिक परीक्षा सञ्चालन गर्नुपूर्व उक्त परीक्षाको मिति र समयका बारेमा बोर्डका सम्बन्धित कार्यालयलाई जानकारी गराउनुपर्ने उल्लेख छ ।

गत वर्ष राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को विद्यार्थीको मूल्यांकन गर्ने अधिकार विद्यालयलाई दिएको थियो । कार्यविधिमा कक्षा ११ मा नियमिततर्फ कम्तीमा ७० प्रतिशत हाजिरी भएका विद्यार्थीले मात्र परीक्षा दिन पाउने, विद्यार्थीले कक्षा ११ मा अध्ययनका लागि विषयहरु बोर्डमा रजिष्ट्रेसन गराउनुपर्ने र परीक्षाका लागि प्रश्नपत्र तथा उत्तरपुस्तिका पनि विद्यालय आफैंले तयार गर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।

कक्षा ११ को मूल्यांकन अक्षरांकन पद्धतिबाट नै हुने र कक्षा ११ मा जुन विषय अध्ययन गरेको हो सोही विषयमा कक्षा १२ मा अध्ययन गर्न दिइने व्यवस्था कार्यविधिमा गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *