Sajhamanch Archive

एक्सपर्ट फाउण्डेसनद्वारा पालिकाहरुलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । वैदेशिक अध्ययनका लागि इच्छुक नेपाली युवालाई शैक्षिक परामर्श सेवा सञ्चालन गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले नेपालका ५० वटा स्वास्थ्य केन्द्रलाई एक–एकवटा अक्सिजन कन्सन्ट्रेटर वितरणको आजदेखि थालनी गरेको छ ।

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज अन्तरगत स्थापित एक्सपर्ट फाउण्डेसनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा नेपाल भित्राएका ती अक्सिजन कन्सन्ट्रेटरहरु नेपालका छानिएका स्वास्थ्य संस्थालाई वितरण गर्न थालेको हो ।

आज झापाको बिर्तामोडस्थित एक्सपर्टको शाखा कार्यालयमा आयोजित स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा फउण्डेसनका अध्यक्ष रोशन कडेलले प्रतिथान करिब दुई लाख रुपैयाँ पर्ने ती अक्सिजन कन्सन्ट्रेटरहरु झापाका ५ वटा स्वास्थ्य केन्द्रलाई प्रदान गरेका हुन् । झापादेखि धनगढीसम्मका स्वास्थ्य केन्द्रहरुलाई एक्सपर्टको स्थानीय शाखाको संयोजनमा स्वास्थ्य सामग्री हस्तान्तरण सुरु गरिएको कडेलको भनाई छ ।

एक्सपर्ट फाउण्डेसनका सचिव तथा एक्सपर्ट बिर्तामोड कार्यालयका प्रमुख कृष्ण शर्माका अनुसार बुद्धशान्ति गाउँपालिकालाई १ थान, मेचीनगर नगरपालिका वडा नं. १० लाई १ थान, अर्जुनधारा नगरपालिकालाई १ थान, बिर्तामोड नगरपालिका अन्तरगत नगर अस्पताललाई १ थान र बिर्तामोड वडा नं. २ को स्वास्थ्य चौकीका लागि १ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो ।

उक्त सामग्री ग्रहण गर्न बिर्तामोडका नगरप्रमुख ध्रुबकुमार शिवाकोटी, वडा नं. २ का अध्यक्ष नगेन्द्रप्रसाद संग्रौला, अर्जुनधाराका नगरप्रमुख हरिकुमार राना, बुद्धशान्तिका अध्यक्ष रमेशकुमार भुजेल र मेचीनगर १० का वडाध्यक्ष सुदय पनेरु आएका थिए ।

सामग्री ग्रहणपछि बिर्तामोडका नगरप्रमुख शिवाकोटीले पहिलेदेखि नै एक्सपर्टले सामाजिक उत्तरदायित्व निभाउँदै आएको स्मरण गर्दै अहिले प्राणवायु उत्पादन गर्ने साधन प्रदान गरेर अनुकरणीय कार्य गरेको बताए ।

यस्तै मेचीनगर १० का वडाध्यक्ष पनेरुले एक्सपर्टको सहयोगबाट प्राप्त अक्सिजन कन्सन्ट्रेटरले अब धेरै बिरामीको ज्यान बचाउन मद्धत पुग्ने विश्वास गर्दै दाता एक्सपर्ट फाउण्डेसनप्रति आभार व्यक्त गरे ।

एक्सपर्ट फाउण्डेसनका सचिव तथा एक्सपर्ट बिर्तामोड कार्यालयका प्रमुख कृष्ण शर्माले सञ्चालन गरेको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा एक्सपर्टका कर्पोरेट म्यानेजर विकास ज्ञवालीले गतवर्षको कोरोना कहरमा अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीहरुलाई डेढ करोड रुपैयाँ बराबर राहत प्रदान गरिएको जनाए । उनका अनुसार १० लिटर क्षमताका ती अक्सिजन कन्सन्ट्रेटरले दुईजना बिरामीलाई २४सै घण्टा अक्सिजन आपूर्ति गर्दछ ।

नेपालमा स्थानीय सरकारहरु तथा नागरिक समाजसँग मिलेर विपन्नलाई राहतसहित स्वास्थ्य सामग्री प्रदान गर्ने तथा रक्तदान गरेर सामाजिक उत्तरदायित्व निर्वाहा गरिरहेको ज्ञवालीको भनाई थियो । पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुले अक्सिजनको अभावमा मृत्युवरण गर्नुपरेको तीतो यथार्थलाई मनन गरी फाउण्डेसनले सरकारसँगको समन्वयमा नेपाल भित्राएर वितरण थालिएको जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *