एनएमसी डेरी उद्योग खुलेपछि
Published: (Updated: )
by .एनएमसी डेरी उद्योगको स्थापना २०७२ सालमा भएको हो । वैशाख २ गतेबाट परीक्षण उत्पादन शुरुगरी वैशाख १३ गतेबाट आफ्ना उत्पादनहरु बजारमा प्रवेश गराएको हो । एनएमसी डेरी उद्योग सुरु हुनुभन्दा अगाडि र यो अवधि (६ वर्ष पूरा प्रवेश गर्दासम्म) के फरक भयो ? यो विषयमा आफैंले अनुभूति गरेका केही अवस्थाका बारेमा यो आलेखमा चर्चा गरेको छु । यो आलेख किन लेखियो अनि समीक्षा किन आवश्यक ठानियो भने उद्देश्यमा हामी कति सफल हुँदै गएका छौं भन्ने बुझ्नु पनि हो ।
उद्योग शुरु हुनुभन्दा पहिलेको अवस्थाः एनएमसी डेरी उद्योग स्थापना हुनुभन्दा अगाडि झापामा ऋतिका डेरी उद्योग सबैभन्दा ठूलो उद्योगका रुपमा सञ्चालित थियो । दैनिक छ हजारदेखि सात हजार लिटरसम्म दूध सङ्कलन गर्ने ऋतिका डेरीले प्याकेजिङ गरेर वा नगरी दूध र दही सहित सरदर चार हजार लिटर (चाडवाडमा बाहेक) पठाउने गरेको त्यस उद्योगका सञ्चालक राजन चिमरियाले बताउनु भएको थियोे । बढी भएको दूध हरेक दिन सिलगडीस्थित हिमुल डेरीलाई बिक्री गर्ने गरेको उहाँहरु बताउनु हुन्थ्यो । हिमुल डेरीमा दिएको दूधको ठूलो रकम असुली नभएर गतिलो घाटा भएको पनि उहाँको भनाई थियो ।
एनएमसीले पनि शुरुका केही समयसम्म बढी भएको दूध हिमुल डेरीलाई नै बिक्री गर्ने गरेको थियो । केही थोरै रकम एनएमसीको पनि असुली हुन सकेन । अर्को उद्योग दमकस्थित साझा डेरी र कञ्चन डेरी हुन् । उहाँहरुले दैनिक बढीमा दुई हजार लिटरसम्मको कारोबार गर्ने गरेको जानकारी छ । त्यो पनि खुल्ला दूधकै कारोबार गर्नुहुन्थ्यो । प्रशोधन गर्ने गरिएको थिएन । अरु डेरी उद्योगहरु झापामा थिएनन् । ऋतिका डेरीको बजार दमकसम्म पुगेको थिएन । कनकाई माई पूर्वका बिर्तामोड, धुलाबारी, चन्द्रगढी, भद्रपुर, काँकरभिट्टा, शनिश्चरे, चारआलीमा सिमित थियो ।
एनएसी डेरी उद्योग आउँदा उहाँहरु निकै आत्तिनु भएको थियो । ऋतिका डेरीमा हामी उद्योग स्थापना गर्नुभन्दा पहिला र पछि पनि धेरैपटक गएका छौं । सम्वाद र छलफल गरेका छौं । उहाँहरुको बुझाईमा एनएमसी त चल्दै चल्दैन, अब हामी पनि सकिने भयौं भन्ने थियो । हामीले बुझेको फरक थियो । झापाकै बजारमा पनि अनौपचारिक क्षेत्रमा ठूलो मात्रामा दूधको कारोबार हुने गरेको छ । त्यसको केही हिस्सा बढाउने बित्तिकै दुवै उद्योग राम्ररी सञ्चालन हुन्छन् भन्ने मान्यता राखेका थियौं । मैले एउटा भेटमा सञ्चालक मध्येका राजन चिमरियालाई भनेको थिएँः पाँच वर्षभित्रमा तपाईँहरु चार हजारबाट आठ हजारमा पुग्नुपर्छ र एनएमसी शून्यबाट १२ हजार लिटरमा पुग्नुपर्छ । कम्तिमा २० हजार लिटर दूध औपचारिक क्षेत्रमा ल्याउनु पर्छ । अहिने नै झापामा ५०–६० हजार लिटरको दूधको कारोबार हुने अनुमान गरेका छौं भनेको थिएँ ।
दूध सङ्कलनको अवस्था झन् बिकराल थियो । भएका डेरी उद्योगको अवस्था परम्परागत र कमजोर भएका कारण सङ्कलित दूधको गुणस्तर निकै कमजोर थियो । पानी नमिसाएको दूध पाउने अवस्था नै थिएन । दूधको स्वच्छताका बारेमा त कसैको ध्यान नै थिएन भन्दा पनि हुन्छ । नफाट्दासम्म दूधलाई राम्रो मानिन्थ्यो । अझ फाट्न लागेको दूधलाई पनि केमिकल राखेर नफाट्ने बनाइन्थ्यो भन्ने सुनेको छु । जुन स्वास्थका लागि निकै हानिकारक हुन्छ ।
दूधको गुणस्तर राम्रो हुनलाई दूध दुहेको बढीमा तीन घण्टाभित्रमा चिस्यान केन्द्रमा पुर्याएर चिसो पारी सक्नुपर्छ । त्यो बेलामा झापामा ५–६ वटाभन्दा बढी दूध चिस्यान केन्द्र थिएनन् । ती पनि कुनै बन्द भएका र चलेकाहरु पनि अत्यन्तै सङ्कटमा थिए । अलि राम्ररी चलेको भनेको तोपगाछी (अहिलेको शिवसतासी)–स्थित नेपाल दुग्ध उत्पादक सहकारी संस्थाले सञ्चालन गरेको चिस्यान केन्द्र थियो । ऋतिका डेरी उद्योगले दूध सङ्कलनका लागि चिस्यान केन्द्र स्थापना गर्ने, गराउने तिर ध्यान दिएको पाइएन । सायद त्यसको आवश्यकता नै महशुस भएन । चाहिएको दूध आएकै थियो । भएकै दूधको बजार नभएपछि अरु थप्नुपर्ने आवश्यक नै भएन ।
एनएमसी डेरी उद्योग खुलेपछिः एनएमसीले शुरुमा किसानको गोठबाट र किसानले डेरीमै ल्याइदिएको सिमित दूधबाट उद्योग शुरु गरेको हो । गोठबाट दूध उठाउन सहज थिएन । त्यो बेला ठूला गोठ थिएनन् । भएकाहरुको सरसफाई राम्रो थिएन । २०–३० लिटर दूध उठाउन पनि गोठमा बिहान बेलुकै जानुपर्ने बाध्यता थियो । जुन खर्चिलो हुन्थ्यो तर उपाय नभए पछि जानै परेको स्थिति थियो ।
चिस्यान केन्द्र स्थापनाको अभियानः एनएमसीले किसानलाई पायक पर्ने गरी ठाउँठाउँमा चिस्यान केन्द्र स्थापना गर्न खुबै मेहनत गर्नु पर्यो । मानिसलाई हौस्यायौं, यसबाट हुने फाइदाको जानकारी दियौं । यसबारेमा मैले एउटा लेख स्थानीय पत्रिकामा प्रकाशन गरेको थिएँ । तर विगतमा भएका चिस्यान केन्द्रले पनि राम्रो गर्न नसकेको र कतिपय बन्द भएकाले गर्दा मानिसले यसमा लगानी गर्न रुचि देखाएनन् । शरणामतिमा दूध संकलनको राम्रो सम्भावना देखेर स्थानीयलाई चिस्यान केन्द्र खोलाउन निकै प्रयास भयो । तर कसैले पनि लगानी गर्न आँट गरेनन् । त्यसपछि एनएमसी डेरी उद्योगले नै लगानी गरेर चिस्यान केन्द्र स्थापना गरियो । त्यहाँ अहिले दैनिक दुई हजार लिटर दूध सङ्लन हुन्छ, जुन धेरै राम्रो हो ।
शान्तिनगरमा एउटा कृषि सहकारीले दूध चिस्यान केन्द्र करिव १५ महिना सञ्चालन गरेर बन्द गरेको रहेछ । त्यसलाई सञ्चालन गर्न अनुरोध गरियो । तर उहाँहरुले मान्नु भएन । डेरी उद्योगले नै त्यो चिस्यान केन्द्रका समानहरु भाडामा लिएर सञ्चालन गर्न थाल्यौं । एक वर्ष सञ्चालन गरेपछि दैनिक ५–६०० लिटर दूध आउन थालेको अवस्थामा त्यही काम गर्ने कर्मचारी लीला पोखरेललाई अब नाफा हुन शुरु भयो, तपाई आफैं चलाउनु भनेपछि सजिलो शर्तमा चलाउन दियौं । अरु सम्भावित स्थानमा यस्ता चिस्यान केन्द्र स्थापना गर्न एनएमसी डेरीले नै सजिलो बनाउने गरी चिलिड भ्याट किनेर किस्तामा दिन थाल्यौं ।
जति चिलिङ भ्याट स्थापित भए तिनले राम्रै व्यापार गरेका छन् । कतिवटा सहकारीलाई यो काम गरौं, सदस्यको उत्पादनले बजार पाउँछ भनेपछि सहकारीले पनि शुरु गरे । अहिले झापामा मेरो जानकारीमा आएका ४७ वटा चिस्यान केन्द्र सञ्चालनमा छन् । अरु पनि केही हुन सक्छन् । प्रदेश सरकार र स्थानीय पालिकाहरुले पनि यसमा चासो दिएर सहकारी, समूह र व्यक्तिलाई समेत अलिअलि अनुदान दिएर यस्ता भ्याट स्थापना गर्न सजिलो बनाएका छन् ।
मिल्क एनालाइजरको प्रयोगः एनएमसी डेरी उद्योग स्थापना हुनुभन्दा पहिला दूधको शुद्धता नाप्ने पद्धति नै यहाँ थिएन । दूधको स्वच्छताको बारेमा त धेरैलाई जानकारी नै थिएन । झापामा पहिलोपटक दूधमा भएको फ्याट र एसएनएफ छुट्याउने मेशिन मिल्क एनालाइजर ल्यायौं । यो मेशिनले दूधमा पानीको मात्रा भएन भएको छुट्याउँछ । मेशिनको मूल्य करिव एक लाख रुपैयाँ र त्योभन्दा पनि बढी पर्ने भएकाले सबैले राख्न सहज थिएन । त्यसैले होला यसको चलन नै थिएन । डेरी उद्योगमा आएको सबै दूधमा मिल्क एनालाइजर लाउने, प्mयाट र एनएनएफको आधारमा दूधको मूल्य निर्धारण गर्ने वैज्ञानिक चलन हामीले शुरु गर्यौं । यो चलन स्थापित गर्न निकै कठिन भयो । तर दूधको व्यवसायलाई दिगो बनाउने हो भने योभन्दा अर्को उपाय नै हुँदैन थियो । त्यसैले मिल्क एनालाइजरको प्रयोगलाई बढाउने गरी प्रोत्साहन गर्यौं ।
स्थापित हुँदै गएका सबै चिस्यान केन्द्रमा अनिवार्य मिल्क एनालाइजर राख्नैपर्ने र मिल्क एनालाइजर नभएको ठाउँबाट दूध नलिने नीति बनायौं । मिल्क एनालाइजर झापामा मात्रै होइन काठमाडौ बाहिर सहजै किन्न पाइँदैन थियो । यो मेशिन चलाउन पनि तालिमको आवश्यक पर्ने हुन्थ्यो । मेशिनमा पटकपटक खराबी आइरहने समस्या भएकाले किन्न, चलाउन निकै सकस थियो । यसलाई सहज गर्न एनएमसी डेरी उद्योगले नै चिलिड भ्याट किनेर किस्तामा दिएजस्तै भारतबाट मिल्क एनालाइजर मेशिन किनेर परेको मूल्यभन्दा केही कममा (शुरुमा ७५ हजार रुपैयाँमा) किस्तामा दिने व्यवस्था गर्यौं । २० वटा जति मेशिन यसरी बिक्री गरेको हुनुपर्छ । पछि उद्योगमा काम थपिदै गएपछि यस्तो मेशिन बेच्न बिर्तामोडस्थित सयपत्री नेपाललाई अनुरोध गर्यौं । यसको महत्व बुझायौं र तालिम दियौं । बिगे्रेको अवस्थामा हामी बनाउन, क्यालिब्रेसन गर्न सहयोग गर्छौैं भनेपछि सयपत्री नेपाल तयार भयो । अहिले उसले नै मगाएर बिक्री गर्ने र बिक्री पछिको सेवा दिने गरेको छ ।
दूधको स्वच्छतामा सुधारः दूधको शुद्धतामा मिल्क एनलाइजर मेशिनको कारणले धेरै सुधार सम्भव भयो । तर पनि स्वच्छताको कमी नै थियो । दूधको स्वच्छताका लागि दूधलाई तुरुन्तै चिसो पार्ने चलन बसायौं । सबै दूध चिस्यान केन्द्र यसमा सचेत भएका छन् । दूध बोक्ने भाँडामा सुधार गर्नु थियो । योभन्दा पहिला किसानले जर्किन र प्लास्टिकका भाँडामा दूध ओसारपसार गर्ने र राख्न प्रयोग गर्थे । दूध दुहुने, दूध राख्ने, ओसारपसार गर्ने भाँडाको सरसफाईमा ध्यान दिइँदैनथ्यो । हामीले यसमा व्यापक सुधारको अभियान चलायौं । प्लास्टिकका ड्रम, जर्किन, जार, सबैलाई निषेध गर्यौं । दूध बोक्ने भाँडाको सरसफाईमा ध्यान दिन थाल्यौं ।
चिस्यान केन्द्रको सरसफाई आदिमा मसिनो गरी ध्यान दिन थालियो । दूध चिस्यान केन्द्रबाट दूध ओसार्न आधुनिक किसिमका दूध ढुवानीका साधन (मिल्क टेङ्कर) प्रयोग गर्न थाल्यौं । एनएमसीसँग अहिले तीन हजार, पाँच हजार, सात हजार र १० हजार लिटर क्षमताका यस्ता टेङ्कर छन् । यसले दूधको स्वच्छता बढेको छ । अहिले एनएमसीलाई दूध दिने हो भने सफा, स्वच्छ र ताजा दूध हुनुपर्छ भन्ने मान्यता स्थापित भएको छ ।
मूल्यमा सुधारः एनएमसी डेरी स्थापना हुनुभन्दा पहिला किसानले घरबाटै उठाइदिएको दूधको मूल्य प्रतिलिटर ३० रुपैयाँ जति पाउने गरेका थिए । एनएमसी डेरी सञ्चालनमा आएपछि फ्याट र एसएनएफका आधारमा किसानले प्रतिलिटर ३६ देखि ६० रुपैयाँसम्म पाउन थाले । जसको दूधमा ३६ भन्दा कम मूल्य पर्न गयो, यस्तो दूध एनएमसीले नलिने नीति बनायौं । यस्तो हुनुको कारण या त पानीको मात्रा धेरै हुन्थ्यो या त दूध दिने पशु बिरामी भएको कारण फ्याट एकदमै कम आउने गथ्र्यो । किसानलाई सम्झायौं । बिस्तारै किसानले बुभ्mदै गए । पछि दूधको मूल्य सरकारले पनि बढाएपछि किसानले पाउने मूल्य बढ्दै गयो । अहिले किसानले न्यूनतम् प्रतिलिटर ४५ रुपैयाँ ५० पैसादेखि ७० रुपैयाँसम्म पाउने अवस्था बनेको छ ।
भुक्तानिमा सुधारः पहिला किसानले बेचेको दूधको पैसा लिन सजिलो थिएन, कति पैसा नउठ्ने गरेको गुनासो पनि किसानले गरेका थिए । अहिले एनएमसीले १५–१५ दिनमा भुक्तानी दिने गरेको छ । अरुले पनि यसलाई पछ्याएका छन् । झापामा अहिले किसानले औपचारिक क्षेत्रमा बेचिएको दूधको पैसा नपाएको गुनासो सुनिएको छैन ।
पशुपालक किसानको सम्मानः पहिला गाई पाल्ने किसान भन्ने बित्तिकै सामाजिक सम्मानको अभाव महसुस गर्थे । त्यसैले अलिअलि पढेलेखेका युवा यो पेसामा आकर्षित थिएनन् । तर अहिले पशुपालक किसान पनि सम्मानजनक पेसाको रुपमा स्थापित हुँदै गएको छ । त्यसैकारण अहिले धेरै शिक्षित युवा यो पेसाप्रति आकर्षित हुँदै गएको अवस्था छ ।
बढ्दो यान्त्रिकरणको प्रयोगः जब शिक्षित युवा यो पेसामा आकर्षित हुनथाले, तब पशुपालनमा यान्त्रिकरण र नयाँनयाँ प्रविधिको प्रयोग हुन थालेको छ । यसले उत्पादन लागत कम हुने सम्भावना बढेको छ ।
दूधको खपतमा बृद्धिः उद्योगले प्रशोधन गरेको दूध कोल्डचेन मेन्टेन गरेर बिक्री गर्ने पसलको सङ्ख्या ह्वात्तै बढायौं । यसका लागि अनेकन प्रयास गरियो । उपभोक्ताले जतिखेर पनि नजिकैको पसलमा चिसोमा राखेको सुरक्षित दूध र दूधका परिकार पाउन थालेपछि खपत बढ्यो । गाउँगाउँसम्म डेरी प्रोडक्ट बिक्री गर्ने पसलहरु थपिँदै गए । खपत बढेपछि दूधको अभाव हुन थाल्यो र उत्पादनमा जोड दिन थालियो ।
उत्पादनमा बृद्धिः २०७०/७१ सालमा झापामा दैनिक मुस्किलले बढीमा १० हजार लिटर दूध औपचारिक क्षेत्रमा बिक्री हुन्थ्यो भन्ने अनुमान छ । तर अहिले एनएमसी र ऋतिका डेरीले मात्रै दैनिक ३०–३५ हजार लिटर दूधको कारोबार गर्छन् । हाल कोरोनाको कारण भएको लकडाउनको अवस्थामा बाहेक यो तथ्याङ्क दैनिक कारोबारको हो । झापाबाट दूध लाने डेरीको संख्या बढेको छ । तरहराको कामधेनु डेरी, बिराटनगरको जीवन विकास डेरी, शिवम् डेरी, डिडिसी लगायतका उद्योगहरुले दूध संकलन गर्ने गरेका छन् । झापामै पनि दमकमा साझा डेरी र पूर्वेली डेरीले कारोबार बढाएका छन् । किसानले राम्रो मूल्यमा दूध बेच्न र समयमा भुक्तानी पाउन थालेपछि दूध उत्पादक किसान बढेका छन् । अहिले झापाबाट दैनिक ४०–४५ हजार लिटर दूध औपचारिक क्षेत्रमा बिक्री हुने गरेको अनुमान छ ।
किसानको बानीमा परिवर्तन र लाभान्वितः किसान आफ्नो उत्पादन लिएर बिक्री गर्न बजार जान झन्झट मान्ने गर्थे र अझै पनि गर्छन् । त्यसैले दूध बिक्री गर्ने किसानले घरबाटै विचौलियालाई दूध दिनु एक प्रकारको बाध्यता थियो । अहिले पनि सबै किसानको पहुँचमा चिस्यान केन्द्र नहुन सक्छ । यस्ता किसानले कम मूल्यमा नै दूध बेच्नु बाध्यता हो । यसोहुँदा मूल्य निकै कम पाउँथे, पाउँछन् ।
अहिले किसानको पहुँचमा धमाधम दूध चिस्यान केन्द्रहरु खुल्न थालेपछि किसान आफैं दूध लिएर चिस्यान केन्द्र पुग्ने गरेका छन् । चिस्यान केन्द्रमा दूध जाँचेर मात्रै खरिद गरिने भएकाले दूधको शुद्धता र स्वच्छतामा सुधार भएको छ । फ्याट र एसएनएफका आधारमा मूल्य पाउने हुँदा किसान बढी मूल्य पाउन थालेका छन् । दूध बिक्रीबाट हुने आम्दानी सोभैm किसानको हातमा पुग्ने भएकाले किसानको आम्दानी बढ्ने र जीवनस्तरमा सुधार आउने क्रम बढेको छ ।
डेरीफर्मको विकासः एनएमसी डेरी शुरु हुनुभन्दा पहिला पनि झापामा केही उत्साही युवाले अलि ठूला गाईगोठ (डेरीफर्म) शुरु गरेका थिए । दमकमा सुदिप गौतमले सञ्चालन गरेको पाथीभरा कृषि फर्म अलि व्यवस्थित हुनेक्रममा थियो । बाहुनडाँगीमा रवि नेपालसहितका चारजना युवा मिलेर यस्तै फर्म शुरु गरेका थिए । तर दूध बेच्ने भरपर्दो ठाउँ नभएर आफैं काँकरभिट्टा बजारमा ल्याएर बेच्ने गरेका थिए । त्यस्तै अर्को बिर्तामोडको सैनिकमोड छेउमा कामधेनु महिला सहकारीले पनि राम्रै फर्म शुरु गरेको थियो । उसले पनि दूध आफैं बजारमा ल्याएर बेच्नुपर्ने बाध्यता थियो । यस्ता केही छिटफुट फर्महरु थिए । तर ती सजिलो अवस्थामा थिएनन् । त्यो बेलाका धेरै फर्महरु बन्द नै भए । तर बाहुनडाँगीमा फर्मको बिस्तार भयो । उनीहरुले नजिकै सजिलै दूध बेच्न पाएका छन् । अहिले झापामा दर्जनौं राम्रा डेरी फर्महरुको विकास भइरहेको छ । उनीहरु या त सोभैm डेरी उद्योगलाई दूध बेच्छन् या नजिकैको चिस्यान केन्द्रमा लगेर दिन्छन् ।
डेरी फर्ममा सुधारः दूध नियमित बिक्री हुने भएपछि यो व्यवसायमा लागेका किसानले लगानी बढाएका छन् । नयाँनयाँ किसान यो व्यवसायप्रति आकर्षित भएका छन् । प्रविधिको प्रयोग गर्ने गरेका छन् । पशुको नश्लसुधार, आहारामा सुधार, गोठमा सुधार र उपचारमा राम्रो ध्यान दिन थालेका छन् । विगतमा पशु आहारको नाममा सामान्य घाँस, पराल र चोकरदानामा भरपर्ने किसानले केही वर्षदेखि मकैको साइलेज बनाउने अभियान नै चलाएका छन् । किसानलाई पराल र चोकरदानाको सट्टा साइलेज बनाउन र खुवाउन एनएमसीले डेरी उद्योग शुरु गर्दादेखि नै निकै जोड दिँदै आएको थियो । तर त्यो समयमा पोलेर खानेबेला हुन लागेका मकै घोगासहित काटेर साइलेज बनाउनु पर्छभन्दा मानिस हाँस्थे र बौलाएछ भन्छन् भन्थे । हामी एकपटक बौलाउन आँट गरौं भन्थ्यौं । अहिले यो सामान्य बन्दै गएको छ । अब निकट भविष्यमा नै झापा मै साइलेज उद्योग एनएमसीले नै शुरु गर्ने गरी मेशिनहरु बुक गरिसकेको छ । साइलेजका लागि मकैको खेती गर्ने किसान बढेका छन् । पशुपालक किसानले साइलेज किन्न चासो देखाएका छन् । साइलेजको प्रयोग दूध र मासु उत्पादनका लागि निकै ठूलो फट्को मान्न सकिन्छ ।
रोजगारीमा योगदानः एनएमसी डेरी उद्योगमा मात्रै ७५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । ३७ वटा चिस्यान केन्द्रबाट दूध सङ्कलन गरिन्छ । त्यहाँ पनि युवाहरु स्वरोजगार बनेका छन् । चिस्यान केन्द्रसँग जोडिएका किसान स्वरोजगार बनेका छन् । जिल्लामा पाँच हजारभन्दा बढी किसान विभिन्न चिस्यान केन्द्रमा बिहान बेलुका दूध बिक्री गर्छन् र आय आर्जन गरिरहेका छन् । डेरीका उत्पादनहरु बिक्री गर्नेगरी दर्जनौ पसलहरु नयाँ थपिएका छन् । त्यहाँ रोजगारी थपिएको छ । डेरीका उत्पादन बिक्री गरेर सयौं मानिसले दैनिक आम्दानी गरिरहेका छन् ।
गुणस्तरमा सुधारः सबैभन्दा महत्वपूर्ण कुरा डेरीका उत्पादनको गुणस्तरमा व्यापक सुधार भएको छ । २०७३ सालमा खाद्यको गुणस्तर सम्बन्धी एउटा कार्यक्रममा एकजना प्रस्तोताले भनेको सम्झन्छुः ‘नेपालका अस्पतालमा धेरै भिड हुनुको कारण गुणस्तरहीन खाद्य सामग्रीको उपभोग व्यापक भएकाले हो । त्यसमा पनि अस्वस्थकर दूध र मासुको भूमिका धेरै छ । त्यसैले आम मानिसको स्वास्थ्यका लागि हाम्रा खाद्य बस्तुको गुणस्तरमा व्यापक सुधारको खाँचो छ ।’
एनएमसीले ‘शुद्धताको प्रतिक’ (Symbol of purity) को नारा दिएर त्यसलाई लागू गर्न अनेकन कोसिस गर्यौं र गरिरहेका छौं । त्यसैले एनएमसीका उत्पादनमा सचेत मानिसले विश्वास गर्ने गरेका छन् । यसले एनएमसीको मात्रै गुणस्तर राम्रो भएको होइन कि गुणस्तरका लागि एनएमसीकै उत्पादन खोज्न थालेपछि अरु उद्योगले पनि गुणस्तरमा सुधार गरेका छन् । यसले जनस्वास्थ्यमा अवश्य राम्रो प्रभाव परेको सहजै अनुमान गर्न सकिन्छ ।
बजारको विस्तारः एनएमसी डेरी उद्योग आउनुभन्दा पहिला झापामा प्रशोधित दूधका बारेमा अनेक भ्रम थिए, अभैm कतिपयमा छ । एनएमसीले प्रशोधित दूधको गुणस्तर राम्रो हुने कुराका बारेमा व्यापक प्रचार प्रसार गरेको कारण मानिसको विश्वास प्रशोधित डेरी प्रोडक्टमा बढेको छ । एनएमसीका उत्पादनले त्यसलाई पुष्टि गरिदिएको छ । त्यसकारण बजारको व्यापक विस्तार हुन सकेको छ । पहिला झापाका डेरी उद्योगले झापाकै बजारमा खासै उपस्थिति जनाउन सकेका थिएनन् भने अहिले झापाका गाउँगाउँसम्म पुगेका छन् । जिल्ला बाहिर पनि मोरङ र सुनसरीका मुख्य बजारहरुमा पहुँच र पहिचान पुर्याएको अवस्था छ ।
जनशक्तिको विकासः एनएमसी उद्योग आउनुभन्दा पहिला यस क्षेत्रमा डेरी उद्योगमा काम गर्ने दक्ष जनशक्तिको पूरै अभाव थियो । सानोसानो प्राविधिक समस्या आउँदा पनि भारतको पुने, मुम्बई, दिल्ली वा काठमाडौस्थित सप्लायर्सबाटै मानिस झिकाउनु पथ्र्यो । यसमा समय र पैसा दुवै खर्च हुन्थ्यो । तर यो अवधिमा एनएमसीमा कामको अनुभवले धेरै जनशक्ति तयार हुँदै गएको अवस्था छ । अहिले गम्भिर खालको समस्या नपरी बाहिरका मानिस झिकाउनु परेको छैन । बरु अरु डेरी उद्योग र चिस्यान केन्द्रलाई समेत प्राविधिक परामर्श र सेवा दिनसक्ने अवस्था बनेको छ । सेवा दिने गरिएको छ ।
व्यवस्थापकीय क्षमताको विकासः डेरी उद्योग शुरु गर्नुभन्दा पहिला हामीलाई नै पनि आधुनिक डेरी उद्योग सञ्चालन गर्न सकिन्छ कि सकिँदैन भन्ने चिन्ता थियो । सदस्यको हितका लागि यो काम गर्नैपर्छ भनेर जोखिम लिएर हाम फालेका थियौं । समस्या थिए, चुनौति थिए । झेल्दै गयौं, सिक्यौं । अहिलेसम्म आइपुग्दा अब सहज हुन थालेको छ । वित्तीय हिसाबले पनि सन्तुलनमा छौं । अब नयाँनयाँ प्रोडक्ट कसरी बनाउने, के के बनाउने भनेर खोजी शुरु भएको छ । मिल्क होलिडे गर्नु नपरोस् भनेर दूधको खपत बढाउने गरी काम गर्न आँट पलाएको छ । दूध पाउडर कारखाना खोल्ने गरी पूँजीको निर्माण र सहयोग जुटाएर अब अझै उचाईका अरु व्यवसाय गर्नुपर्छ भन्ने विश्वास पलाएको छ ।
निश्कर्षः एनएमसी डेरी उद्योग शुरु गर्दाको उद्देश्यमा नै हामी अगाडि बढिरहेका छौं । एनएमसीले डेरी उद्योग खोलेर सदस्यलाई रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउने, व्यवसायिक बनाउने मुख्य उद्देश्य लिएको हो । साथसाथै समाजमा भएको डेरी सम्बन्धी पुरानो चलन बदलेर दिगो र आधुनिक पद्धतिको विकास गर्ने हो । यसका लागि कुनै झुट नबोल्ने, गलत काम नगर्ने, कसैलाई नझुक्याउने, नाफाका लागि हतार नगर्ने, इमान्दार भएर काम गर्ने र एनएमसीसँग जोडिएका मानिसलाई इमान्दार भएर व्यवसायमा लाग्न प्रेरित गर्ने हो । यस बीचमा हामीलाई गलत तरिकाले प्रहार पनि गरियो । गलत आलोचना गरेर डेरी व्यवसायमा आधुनिक प्रविधिको प्रयोगलाई निरुत्साहित गर्ने प्रयास पनि भए । तर हामी विचलित भएनौं, निरन्तर लागि रह्यौं । यो अभियानमा आलोचना गर्नेभन्दा सहयोग गर्नेहरु धेरै थिए । त्यसैले हामीलाई उद्देश्यमा लागिरहन सहयोग भएको छ । म ती सबैलाई अन्तरमनबाटै धन्यवाद दिन्छु । धन्यवाद ।
Comments