Sajhamanch Archive

भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना सङ्क्रमण पुष्टि

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by .

दमक । भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । दमक नगरपालिकाको स्वास्थ्य शाखाले दुई दिन अघि दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा गरिएको परीक्षणमा सो सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

शिविरमा बसोबास गरिरहेका ३१ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य शाखा अधिकृत बद्री बरालले जानकारी दिए । सङ्क्रमण पुष्टि भएका सबैलाई आवश्यक औषधिसहित होम आइसोलेसनमा बस्न अनुरोध गरिएको उनले बताए ।

यसैगरी कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म शिविरमा पाँच जनाको मृत्यु भइसकेको छ भने कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका तर परीक्षण नगरिएका अन्य केही व्यक्तिको पनि मृत्यु भएको हुनसक्ने शिविरका पूर्वसचिव युवराज साङ्पाङले बताए ।

शिविरमा बढ्दै गएको कोरोना सङ्क्रमणको नियन्त्रणका लागि सरोकारवाला निकायले तत्काल ध्यान दिनुपर्ने भुटानी शरणार्थी अपाङ्ग सङ्घकी अध्यक्ष देवीमाया गुरुङ्गले बताए ।

यसैबीच शिविरका १० जना सङ्क्रमित परिवारलाई शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संस्था (यूएनएसीआर) र विश्व लुथरन फेडरेशनको सहयोगमा चामल, तेललगायत खाद्यान्नसहित सरसफाइसम्बन्धी सामग्री प्रदान गरिएको बताइएको छ ।

पूर्वी मोरङको पथरी र दमकमा रहेको दुई शिविरमा करिब पाँच हजार भुटानी शरणार्थी बस्दै आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *