Sajhamanch Archive

विराटनगर महानगरपालिकाको बजेट ४ अर्ब १० करोड ३ लाख

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, by .

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

बिहीबार महानगरपालिकाको आठौँ नगरसभामा उपप्रमुख इन्दिरा कार्कीले नीति तथा कार्यक्रम र राजस्व तथा आय–व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गरेकी हुन् ।

कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ४६ करोड ७० लाख ५२ हजार ९२५ रुपैयाँ, पुँजीगततर्फ ३ अर्ब ५८ करोड ३२ लाख ८५ हजार र वित्तीय व्यवस्थातर्फ पाँच करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रशासनिक खर्चतर्फ कुल बजेटको ११ प्रतिशत र पुँजीगततर्फ ८९ प्रतिशत बजेट छुट्ट्याएको हो ।

अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत संघीय सरकारबाट १ अर्ब १९ करोड ५३ लाख, प्रदेश सरकारबाट ४ करोड ९० लाख १५ हजार, राजस्व बाँडफाँडबाट १ अर्ब १ करोड ४७ लाख ८३ हजार, आन्तरिक आम्दानीबाट ८३ करोड ९ लाख २५ हजार, अन्य अनुदान तथा ऋणबाट ७० करोड ५५ लाख ८ हजार ५००, संघ–संस्थाबाट १ करोड ४४ लाख र जनसहभागिता बाट १० करोड आम्दानी हुने अनुमान गरिएको छ ।

यसैगरी, पुँजीगत खर्चमध्ये पूर्वाधार विकासमा २ अर्ब ४ करोड ३९ लाख ४८ हजार, आर्थिक विकास क्षेत्रमा १७ करोड ८७ लाख, सामाजिक विकास क्षेत्रमा १ अर्ब २६ करोड ६९ लाख, सुशासन तथा वातावरण क्षेत्रमा ९ करोड ३७ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ ।

क्रमागत योजनाको भुक्तानीका लागि २५ करोड ३५ लाख, शिक्षातर्फ ५५ करोड ७७ लाख, युवा तथा खेलकुदतर्फ १ करोड ६१ लाख, स्वास्थ्यतर्फ १८ करोड १ लाख र विपत् व्यवस्थापनतर्फ ३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

उपमेयर कार्कीले भनिन्, “कोभिड महामारीका कारण उत्पन्न समस्यालाई समेत सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रमहरु केन्द्रित गरिएको छ ।”

बजेटमा वडास्तरीय आयोजनाहरुको लागि २६ करोड ७८ लाख, नगरस्तरीय गौरवको आयोजनामा १७ करोड ३८ लाख, वीरेन्द्र सभागृह निर्माणका लागि १९ करोड ५० लाख, ल्यान्डफिल्ड साइड, अन्तर्राष्ट्रिय सभाहलको जग्गा खरिद गर्न १५ करोड विनियोजन गरिएको छ ।

विराट राजाको दरबार क्षेत्रका लागि ५ करोड, सिंघिया तटमा सन्ध्याकालीन आरतीका लागि २ करोड, हिमालय रोड निर्माण गर्न ३ करोड, महानगर आवास योजनाका लागि ९० लाख, फोहोर पानी प्रशोधन केन्द्रलाई २ करोड, फ्लाइओभर पुल निर्माणका लागि २ करोड ४५ लाख, प्रधानमन्त्री पार्कका लागि ५ करोड र अन्य नगरस्तरीय आयोजनाका लागि ४० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

त्रि–वर्षीय मध्यकालीन खर्च संरचनाअन्तर्गत आगामी तीन वर्षको खर्चको अनुमानसमेत पेस गरिएको छ । आर्थिक वर्ष २०७९र८० मा ४ अर्ब ३७ करोड र आर्थिक वर्ष २०८०/८१ मा ४ अर्ब ७३ करोडको आय–व्ययको अनुमान गरिएको छ ।

महानगरपालिकाले पछिल्लो चार वर्षको अवधिलाई पूर्वाधार निर्माणमा प्रगति भएको निर्क्योल निकालेको मेयर भीम पराजुलीले बताए । भने, “पूर्वाधार विकासमा महानगरभित्र भएको प्रगतिको प्रभाव सकारात्मक देखिएको छ ।”

दातृनिकायको ऋण सहयोगमा सञ्चालित दुई ठूला परियोजना सम्पन्न हुँदा महानगरभित्र ६२८ किलोमिटर नाला, ७९ किलोमिटर ढल प्रणाली, २ हजार २३३ वटा हाउस कनेक्सन, ५९ किलोमिटर फुटपाथसहितको पिच सडक, ४१ किलोमिटर सडक सुधारको काम सम्पन्न गरेको जनाइएको छ ।

अघिल्लो आर्थिक वर्ष महानगरले ४ अर्ब २३ करोड ३ लाख रुपैयाँको आय अनुमान गरेको थियो । तर, १० महिनामा १ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ मात्र यथार्थ आम्दानी भएको छ । यो अवधिमा ३ अर्ब ६३ करोड पुँजीगत खर्च हुने अनुमान थियो । तर, ८८ करोड मात्र खर्च गर्न सकेको छ ।

महानगरले ९५ करोड आन्तरिक आम्दानी हुने अनुमान गरेको भए पनि पछिल्लो १० महिनाको अवधिमा ३१ करोड ३८ लाख आम्दानी गरेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *