Sajhamanch Archive

अमेरिकामा १२ तले भवन भत्किँदा ९९ जना बेपत्ता

Published: in विश्व समाचार by .

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मायामीमा १२ तले भवन भत्किँदा कम्तीमा पनि ९९ जना भग्नावशेषभित्रै बेपत्ता भएका छन् ।

बिहीबार अचानक उक्त भवन भत्किँदा १ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य धेरै मानिस भग्नावशेषभित्र पुरिएको ठानिएको छ ।यसरी बेपत्ता रहेकाहरूमा कैयौँ ल्याटिन अमेरिकी आप्रवासी रहेको बिबिसीले जनाएको छ ।

स्थानीयहरू सेप्टेम्बर ११ सन् २००१ मा ट्विन टावर ढलेजस्तै दृश्य देखिएको बताएका छन् । तर सो भवन भत्किनुको कारण भने प्रस्ट भएको छैन । सुरक्षा प्रमाणीकरणका लागि त्यहाँ पुनर्निर्माणको काम भइरहेको बताइएको छ ।

घटनापछि मायामी नगरकी मेयर डेनीयला लेभिन(काभाले हालसम्म १०२ जनाको अवस्था पत्ता लागेको र ९९ जना अझै बेपत्ता रहेको जानकारी दिइन् । उनले सहयोग र उद्धार तथा खोजी कार्यका लागि सङ्घीय सरकारलाइ सहयोग गर्न अनुरोध गरेकी छन् ।

बेपत्ता हुनेमा कैयौँ ल्याटिन अमेरिकीहरू रहेको विवरण सम्बन्धित कन्सुलेटहरूले दिइरहेका छन्।

पाराग्वेकी प्रथम महिलाका आफन्तहरू पनि हराउने मध्येमा परेको बताइएको छ । उद्धारकर्ताहरूले प्रथम महिला सिल्भाना लोपेज मोरेराका बहिनी ज्वाइँ र उनीहरूका तीन सन्तान अनि एक जना घरेलु कामदारको अवस्था पत्ता लगाउन सकिरहेका छैनन् ।

उक्त भवन सन् १९८० मा बनेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *