उपत्यकामा अझै निषेधाज्ञा थपिने, सार्वजनिक यातायात सञ्चालनको टुंगो छैन
Published:
by .काठमाडौं । काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिने भएको छ । करिब दुई महिना अघिदेखिको निषेधाज्ञालाई अझै निरन्तरता दिइने प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले फेरि निषेधाज्ञा थप हुने बताए ।
“उपत्यकाको पछिल्लो साताको संक्रमणदर अघिल्लो साताको जस्तै छ । संक्रमण फैलिन सक्ने जोखिम पनि कायमै छ । त्यसैले अबको निषेधाज्ञाबारे केही भन्न सकिने अवस्था छैन । पछिल्लो साताको संक्रमणदर स्थिर छ,” उनले भने, ‘‘भयावह अवस्थालाई पार गरेर आए पनि फेरि भिडभाड भयो भने उस्तै अवस्था आउँछ । त्यसैले फेरि एक सातारदश दिन कति हुन्छ निषेधाज्ञा थप हुन्छ ।”
नागरिकको स्वास्थ्य र संक्रमणदरलाई मध्यनजर गर्दै निर्णय लिइने उनले बताए ।
“चरणबद्ध रुपमा स्वास्थ्य मापदण्डमा कडाइ गरी केही क्षेत्र खुकुलो बनाएका छौँ । निजी सवारी–साधनमा जोर–बिजोर लागु गरिएको छ । असार १४ गतेसम्मको संक्रमणदर अहिले नै पूर्वानुमान गर्न सकिँदैन । अघिल्लो साता र यो साताको संक्रमणदर उस्तै उस्तै छ,” प्रजिअ निरौलाले भने, “सार्वजनिक सवारी–साधन चल्न दिनेबारे केही पनि छलफल भएको छैन । राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाको म्यासेज मलाई आएको छ । यस विषयमा १४ गतेअघि छलफल होला कि । सार्वजनिक यातायात व्यवसायी मारमा परेको बारे प्रशासनको ध्यान गएको छ । तर, संक्रमणदरलाई मध्यनजर गर्दै निर्णय लिइनेछ ।”
पछिल्लो समय निषेधाज्ञा खुकुलो गरिएको छ । मोटरसाइकल कार, जीप, ट्याक्सी चलाउन दिइएको छ । अहिले बैंक तथा वित्तीय संस्थाहरु स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन भइरहेका छन् । विकास निर्माणका कामलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ । पठाओ र टुटल सेवा सञ्चालनमा आइसकेका छन् । सरकारले आन्तरिक तथा बाह्य हवाई उडान गर्न दिने निर्णय पनि गरिसकेको छ ।
“उपत्यकामा निषेधाज्ञालाई निरन्तरता दिनुको एउटै उद्देश्य हो भिडभाड नियन्त्रण गर्नु,” उनले भने, ‘‘पछिल्लो साताको संक्रमणदर हेर्दा अहिले नै केही भन्न सकिने अवस्था छैन । निषेधाज्ञा थप्नुअघि विभिन्न सरोकारवाला निकायसँग छलफल गरेर मात्रै निर्णय लिँदै आएका छौँ ।”
निषेधाज्ञालाई निरन्तरता दिँदा मारमा परेका वर्गका गुनासाहरुप्रति प्रशासनको ध्यानाकर्षण भएको अधिकारीहरुको भनाइ छ । उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा सकिन अझै तीन दिन बाँकी छ ।
Comments