Sajhamanch Archive

रोपाइँको चटारोमा परेका किसानलाई डाक्टरको सुझाव–धान रोप्दा कम्तीमा ६ हातको दूरी कायम गरौँ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

काठमाडौं । देशका धेरै ठाउँमा अहिले धान रोपाइँ सुरु भएको छ । कोरोनाको जोखिमकै बीच खेतबारीको काम गर्नु पर्ने भएकाले स्वास्थ्य सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् ।

लगाएको बाली भित्र्याउने र खेतबारी खाली गरी त्यहाँ रोपाइँ गर्ने हुँदा यतिबेला सामूहिक रुपमा खेतीपातीको काम हुने गरेको छ । तर यसरी सामूहिक रुपमा काम गर्दा कोरोना सङ्क्रमणको जोखिम रहेकाले स्वास्थ्यका मापदण्ड पालनामा ध्यान दिन सिरहाका जिल्ला कोभिड अस्पतालका प्रमुख डा. नागेन्द्रप्रसाद यादवको आग्रह छ ।

उनका अनुसार रोपाइँमा भेला किसानले सावधानी अपनाए सङ्क्रमणबाट बच्न सकिन्छ । धानको बीउ उखेल्दा एकै लाइनमा नबस्न उनको आग्रह छ । ब्याडको चार कुनाबाटै बीउ उखेले सजिलै दूरी कायम गर्न सकिन्छ । यस्तै, धान रोप्दा पनि एकै पटक धेरै जना भेला हुनुभन्दा पनि थोरै मानिस भेला भएर रोपाइँं गर्न डाक्टरको सुझाव छ ।

धान रोप्दा कम्तीमा ६ हातको दूरी कायम गर्न पनि डाक्टरको सुझाव छ । खेतीपातीको काम गर्दा पनि मास्क लगाउन र खाजा खाना खाने बेलामा दूरी कायम गरी सफा पानीले साबुनपानीले हात धुन पनि डाक्टरको सल्लाह छ । यस्तै, रोपाइँका कारण अहिले गाउँ र सहरमा ओहोरदोहोर धेरै हुने भएकाले पनि कोरोना भाइरसको सङ्क्रमणको जोखिम हुन सक्छ ।

बजार पसल जाँदा दूरी कायम गर्ने, मास्क लगाउने तथा बेला बेलामा साबुन पानीले हात धुने वा स्यानिटाइजर राम्ररी हातमा दल्ने गर्नुपर्दछ । यस्तै, रोपाइँका लागि सहरबाट गाउँ जानेहरुले पनि मापदण्ड पालना गरे सङ्क्रमणलाई रोक्न सकिन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *