Sajhamanch Archive

आगामी सातादेखी माथिल्लो तामाकोसीबाट बिजुलीको परीक्षण सुरु हुने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट बिजुली उत्पादनको परीक्षण यसै साताबाट सुरु गर्ने तयारी थालिएको छ ।

शनिबार मध्यराति ४८ घण्टाको सुरुङ परीक्षण सकिएको छ । माथिल्लो तामाकोसीको बिजुलीलाई राष्ट्रिय प्रणालीमा जडान गर्नका लागि आइतबारबाट तार तान्ने काम सुरु भएको छ । तार तान्ने काम आगामी बिहीबारभित्र सक्ने लक्ष्य छ । त्यसपछि बिजुलीको परीक्षण उत्पादन सुरु हुने माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।

भदौ महिनापछि पूर्णक्षमतामा बिजुली उत्पादन

माथिल्लो तामाकोसी ४५६ मेगावाट क्षमताको छ । आयोजनाका ६ वटा युनिटहरुमध्ये आगामी साता पहिलो युनिटबाट ७६ मेगावाट बिजुलीको परीक्षण उत्पादन गरिने प्रवक्ता न्यौपानेले जानकारी दिए ।

‘त्यसपछि अर्को युनिटबाट असार महिना पछाडि थप ७६ मेगावाट बिजुली परीक्षण उत्पादन गर्छौं’, न्यौपानेले भने, ‘भदौ महिनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादन सुरु गर्ने तयारीमा छौं ।’

माथिल्लो तामाकोसीबाट उत्पादित बिजुलीलाई नयाँ खिम्ती सबस्टेशनबाट राष्ट्रिय प्रसारणमा जोडिने छ । यसअघि नयाँ खिम्ती सबस्टेशन निर्माणको टुंगो नलाग्दा तामाकोशी करिडोरबाट आएको बिजुली सीधै ढल्केबर लैजाने गरी खिम्ती सबस्टेशनमार्फत जोडिएको थियो । अब भने खिम्तीको नयाँ सबस्टेशनमार्फत नै तामाकोशीको बिजुली राष्ट्रिय प्रसारणमा जोडिनेछ । तामाकोसी करिडोरका सबै बिजुली नयाँ खिम्ती सबस्टेशनबाटै राष्ट्रिय प्रसारणमा जोडिने छ ।

आज बिहानबाट खिम्ती(लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द

नेपाल विद्युत प्राधिकरणले माथिल्लो तामाकोसीको बिजुलीलाई राष्ट्रिय प्रणालीमा जडान गर्नका आइतबार बिहानदेखि खिम्ती-लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द गरिएको छ । खिम्ती-लामोसाँघु १३२ केभी प्रसारण लाइन असार १९ गतेसम्म बन्द रहने छ ।

यो प्रसारण लाइन बन्द हुँदा ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेसनहरुबाट विद्युत आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकहरुको विद्युत् कटौती हुनसक्ने प्राधिकरणले जनाएको छ । विद्युत कटौती हुँदा काठमाडौँ उपत्यकाका ग्राहक पनि प्रभावित हुनेछन् ।

यो परिस्थितिमा कुलेखानी जलाशयको पानी प्रयोग गरी व्यवस्थापन नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *