मोरङको केराबारीमा कोरोना संक्रमितको संख्या बढ्यो
Published:
by .मोरङ । बैशाखको अन्तिम सातातिर मोरङको केराबारी–९ कुसुमे टोलमा कोरोनाभाइरसको संक्रमण देखा परेको छ । करिब डेढ महिना बितिसक्दा पनि टोलबाट संक्रमणको रोकथाम हुन सकेको छैन । बरु संक्रमितको संख्या घट्नुको साटो दिनानुदिन बढिरहेको छ ।
बेलबारी बजारदेखि नजिकै रहेको कुसुमे टोलमा करिब दुई सय घर परिवार छन् । शहरमा संक्रमितको संख्या घट्दै गएता पनि गाउँमा देखापरेको संक्रमण घटेको छैन । एकपछि अर्को परिवारमा फैलिएका कारण संक्रमण नियन्त्रणमा आउन नसकेको हो ।
भाइरसको संक्रमणका कारण एकजना वृद्धको ज्यान गएको छ। काजकिरियामा बसेका परिवारका सदस्यलाई पनि अस्पताल भर्ना गर्नुपरेको छ ।
गत वर्ष पहिलो लहरमा केराबारी गाउँपालिका वडा नं. ९ मा कोरोना भाइरसको संक्रमण दुईजनामा मात्र देखा परेको थियो । यसपटक वडामा ९० जनाभन्दा बढी संक्रमित भेटिएका छन् ।
सबैभन्दा बढी कुसुमे टोल, त्यसपछि बेलचौरी, देवीझोडा, भलुवा र घंघरुमा संक्रमण फैलिएको छ । वडा नं. ९ का एकजना जनप्रतिनिधिसमेत संक्रमित छन् । वडा नं. ९ को बेलचौरीमा एकपटक पीसीआर गर्दा १० जनामा संक्रमण देखिएको छ ।
केराबारी गाउँपालिकाका सबै वडामा संक्रमण फैलिएको छ । पालिकाको वडा नं. ७ सबैभन्दा बढी संक्रमित रहेको वडा हो । त्यसपछि बढी संक्रमित फैलिएको वडा ९ नम्वर हो । गाउँपालिकामा जम्मा ४२४ जना संक्रमितको संख्या रहेको छ । संक्रमितमध्ये ९ जनाको निधन भईसकेको छ ।
स्थानीय स्वास्थ्यकर्मीका अनुसार कतिपय कोरोनाको लक्षण मिल्ने संक्रमितहरु पीसीआर परीक्षण गर्न नआउने गरेको र उनीहरुबाट भाइरस गाउँमा फैलिने गरेको पाइएको छ । गाउँघरमा खेताला, पर्म, साझा पानी पँधेरो, सामाजिक एवं धार्मिक क्रियाकलाप लगायत कारण भाइरसको संक्रमण फैलने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
Comments