Sajhamanch Archive

सिम्रिक साकोसः मृतक सदस्यको ऋण मिनाहा, कोरोना संक्रमित सदस्यलाई पोषिलो खानेकुरा

Published: in मुख्य समाचार, समाज, सहकारी by .

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्य तथा तिनको परिवारप्रति अभिभावकीय भूमिका निर्वाहा गर्ने कार्यलाई प्राथमिकता दिएको छ ।

सिम्रिक साकोसले सदस्यको स्वास्थ्य उपचार गर्दा लागेको खर्चमा ५० प्रतिशतसम्म रकम ब्यहोर्ने गरेको छ । यस्तै ऋण लिएका सदस्यको मृत्यु भएमा बाँकी कर्जा मिनाहा गरिदिने संस्थाको नीति छ ।

संस्थाले यतिबेला कोभिड–१९ संक्रमण भई निको भएका आफ्ना सदस्यहरुलाई पोषिलो खानेकुरा प्रदान गर्ने कार्यको पनि सुरुवात गरेको छ । सिम्रिकमा आवद्ध १४० जना सदस्यहरु हालसम्म कोभिड १९ बाट संक्रमित भइसकेको तथ्याङ्क छ ।

सदस्यमैत्री कार्य गरेकै कारण झापाको बिर्तामोडमा स्थापित संस्थाले मोरङ र इलाम जिल्लाका विभिन्न पालिकाहरुसम्म कार्यक्षेत्र बिस्तार गर्न सकेको कार्यकारी प्रमुख कमलबहादुर बस्नेत बताउँछन् ।

यही शिलशिलामा कोरोना संक्रमण भई निको भएका आफ्ना सदस्यहरुलाई सोमबार बिर्तामोड कार्यालयमा आमन्त्रण गरी पोषिलो खानेकुरा प्रदान गरिएको छ । संस्थाका विभागीय प्रमुख विजय बस्नेतले १४० जना सदस्यहरुका लागि जनही करिब २ हजार रुपैयाँ मूल्य बराबरका सामग्रीहरु तयार गरी कार्यालयबाटै वितरण थालिएको जनाएका छन् ।

यसैबीच, संस्थाका दुईजना शेयर सदस्यहरुको निधनप्रति सिम्रिक साकोसले हालै परिवारमाझ पुगेर शोक व्यक्त गर्दै कर्जा मिनाहाको पत्र तथा उपचार खर्च राहत प्रदान गरेको छ ।

संस्थाको बिर्तामोड सेवा केन्द्रका सदस्य रेणुका खड्काको यही असार २ गते ५३ वर्षको उमेरमा असामयिक निधन भएकाले उनको नाममा बाँकी रहेको तीन लाख २४ हजार ६१२ रुपैयाँ कर्जा मिनाहा गरिएको छ ।

साथै खड्काको स्वास्थ्य उपचारमा लागेको खर्चमध्ये राहत स्वरुप १ लाख ४५ हजार रुपैयाँ पनि परिवारलाई हस्तान्तरण गरिएको छ ।
संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत, विभागीय प्रमुखहरु तथा सेवा केन्द्र अन्तरगतका कर्मचारीहरु कनकाई नगरपालिका वडा नं. ८ शितलचोक पुगेर शोकसभासहित सदस्य राहत प्रदान गरेका हुन् ।

स्वर्गीय खड्का संस्थाको बिर्तामोड सेवाकेन्द्रका कर्मचारी पुजन खड्काकी ममतामयी आमा हुन् ।

यसैगरी संस्थाको सुरुङ्गा सेवा केन्द्रका सदस्य दिनेशकुमार पाण्डेको जेठ ३० गते आइतबार ४४ वर्षको उमेरमा भएको असामयिक निधनप्रति शोक व्यक्त गर्दै उनको परिवारलाई कर्जा मिनाहाको पत्रसहित मृत्यु राहत प्रदान गरिएको छ ।

स्वर्गीय पाण्डेको नाममा लिइएको ऋणमध्ये भुक्तानी गर्न बाँकी रकम ७३ हजार रुपैयाँ मिनाहा गरिएको हो । संस्थाको आइटी विभाग प्रमुख यामबहादुर बिष्ट, सुरुङ्गा सेवाकेन्द्र प्रमुख इन्दिरा भट्टराई तथा सेवा केन्द्रका कर्मचारीहरुको उपस्थितिमा असार ११ गते श्रद्धाञ्जली सभा गर्दै कर्जा मिनाहाको पत्र परिवारका सदस्यलाई बुझाइएको थियो ।

संस्थाले आफ्ना शेयर सदस्य खड्काको असामयिक निधनप्रति शोक व्यक्त गर्दै उनको परिवारलाई काजकिरिया खर्च सहयोग स्वरुप १८ हजार ४०० रुपैयाँ प्रदान गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *