Sajhamanch Archive

देशभर २७ प्रतिशत धान रोपाइँ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । धान रोपाइँ हुने क्षेत्रफलमध्ये देशभर करिब २७ प्रतिशतमा वर्षे धान रोपाइँ सम्पन्न भएको छ ।

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार असार १५ सम्ममा देशभर २७.१२ प्रतिशत क्षेत्रफलमा वर्षे धान रोपाइँ सम्पन्न भएको हो । सात प्रदेशमध्ये हालसम्म कर्णाली प्रदेशमा सबैभन्दा बढी धान रोपाइँ भएको केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठले जानकारी दिए । उनले कर्णाली प्रदेशमा छिटो रोपाइँं थालिने भएका कारण पनि सबैभन्दा बढी रोपाइँ सकिएको जानकारी दिए ।

प्रमुख श्रेष्ठका अनुसार प्रदेश नम्बर–१ मा दुई लाख ७५ हजार ९०१ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ४९ हजार ६२३ हेक्टरमा धानबाली रोपिएको छ । यो धान रोपाइँ हुने कुल क्षेत्रफलमध्ये १७।९९ प्रतिशत रहेको छ ।

त्यस्तै, प्रदेश नम्बर–२ मा १०.५५ प्रतिशत मात्र रोपाइँ सकिएको छ । तीन लाख ६५ हजार ६१५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म यो प्रदेशमा ३८ हजार ५८६ हेक्टरमा मात्र धानबाली रोपाइँ सकिएको छ ।

वाग्मती प्रदेशको एक लाख १५ हजार २९५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म २१.०७ अर्थात् २४ हजार २८८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।

यसैगरी गण्डकी प्रदेशमा १० लाख आठ हजार २७८ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १५.३४ प्रतिशत अर्थात् १६ हजार ६१२ हेक्टरमा, लुम्बिनी प्रदेशमा तीन लाख तीन हजार ५९३ हेक्टर क्षेत्रफलमध्ये ४५.९४ प्रतिशत अर्थात् एक लाख ३९ हजार ४५६ हेक्टरमा, कर्णाली प्रदेशमा ३८ हजार ३८५ हेक्टर क्षेत्रफलमध्ये ६२ प्रतिशत अर्थात् २३ हजार ८५० हेक्टर क्षेत्रफलमा र सुदूरपश्चिम प्रदेशमा एक लाख ६४ हजार ६३९ हेक्टर क्षेत्रफलमध्ये ४८.३१ प्रतिशत अर्थात् ७९ हजार ५४० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।

गत वर्ष असार १५ गतेसम्म सातै प्रदेशमा ३५.४८ प्रतिशत धान रोपाइँ सकिएको थियो । सातै प्रदेशका १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमध्ये चार लाख ८६ हजार ६६२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *