Sajhamanch Archive

लाइसेन्सको नयाँ नियम : लिखितमा ८० र ट्रायलमा ७० अंक ल्याए पास

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा र ट्रायलमा नयाँ व्यवस्था लागु हुने भएको छ । गएको जेठ १ गतेबाटै नयाँ व्यवस्था लागु हुने भनिए पनि कोरोना महामारीका कारण नयाँ निर्देशिका लागु हुनसकेको थिएन ।

तर, आगामी दिनमा हुने लिखित र प्रयोगात्मक परीक्षामा नयाँ नियम लागु हुने यातायात व्यवस्था विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले जानकारी दिए । नयाँ व्यवस्थामा परीक्षामा उत्तीर्ण हुने दर बढ्नेछ । यसअघि, ३० प्रतिशतको हाराहारीमा पास हुने भए पनि अब ५०/६० प्रतिशत पास हुने भुसाल बताउँछन् ।

यस्तो छ नयाँ व्यवस्था
सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ मा लिखित परीक्षामा ८० अंक र ट्रायल (प्रयोगात्मक)मा ७० अंक ल्याए पास हुने व्यवस्था छ । यसअघि, लिखितमा ५० अंक र प्रयोगात्मकमा १०० अंक नै ल्याउनुपर्ने व्यवस्था थियो । यस्तोमा केही कमजोरी भएको अवस्थामा पनि पास हुने दर बढ्नेछ ।

सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिकाका अनुसार परीक्षामा सोधिने सबै प्रश्नहरु विभागले सार्वजनिक गरेको छ । सूचना अधिकारी भुसालले भने, “सानो र ठूला दुवै सवारीका लागि ५/५ सय प्रश्न हामीले विभागको वेबसाइटमा राखेका छौँ । तीनै प्रश्नबाट २०/२० वटा प्रश्न आउनेछन् । प्रत्येक प्रश्न ५ नम्बरको हुनेछ ।”

पहिले परीक्षा दिइसकेका हकमा भने पुरानै व्यवस्था लागु हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *