Sajhamanch Archive

बीपी प्रतिष्ठानका उपकुलपतिसहित चार पदाधिकारीको कार्यकक्षमा तालाबन्दी

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य, by .

विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसहित चार पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।

प्रतिष्ठानमा बेथिति बढेको दाबी गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिले एकहप्ते ‘अल्टिमेटम’ दिँदै बुधबार पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको छ । यही असार १ गतेदेखि प्रतिष्ठानका चिकित्सक, कर्मचारी र विद्यार्थीले आन्दोलन गर्दै आएका छन् ।

सोमबार उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीसमेतको उपस्थितिमा वार्ता आह्वान थियो । तर, सफल हुन सकेन ।

संघर्ष समितिले रिले अनशन र धर्नाका कार्यक्रम समेत गरेको थियो । संघर्ष समितिले बुधबार प्रकाशित गरेको विज्ञप्तिमा पदाधिकारीहरूको गैरजिम्मेवारीपन, लाचारीपन एवम् शून्य तैयारीका कारण प्रतिष्ठानको अवस्था बिग्रिएको जनाइएको छ ।

सम्पूर्ण पदाधिकारीहरूको राजीनामा एवम् बहिर्गमन हुनुपर्ने, प्रधानमन्त्रीकै पहलमा उच्चस्तरीय वार्ता टोलीको गठन गरिनुपर्ने, अबका दिनमा पदाधिकारीहरू चयन गर्दा विभिन्न आयोग एवं विज्ञहरूले दिएको सुझावानुसार विशिष्टीकृत एवम् विज्ञहरूको समूह बनाई त्यो समूहले सिफारिस गरेको व्यक्ति मात्र चयन हुने वातावरण बनाइनुपर्ने समितिले माग गरेको छ । माग पूरा नभए चिकित्सक तथा कर्मचारीले सामूहिक राजीनामा दिने जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *