Sajhamanch Archive

जोन्सन एण्ड जोन्सनले निर्माण गरेको खोप डेल्टा भेरियेन्टविरुद्ध पनि प्रभावकारी

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

वासिङटन । जोन्सन एण्ड जोन्सनले निर्माण गरेको कोरोना भाइरस विरुद्धको खोपले कम्तीमा ८ महिनासम्म इम्युनिटी प्रदान गर्न सक्ने र अति संक्रामक डेल्टा भेरियेन्ट विरुद्ध पनि प्रभावकारी रुपमा सुरक्षा दिलाउन सक्ने अध्ययनमा पत्ता लागेको छ ।

जोन्सन एण्ड जोन्सन खोप, एउटा मात्र डोजको खोप हो ।

कम्पनीले बिहिबार राति यसबारे जानकारी दिँदै भनेको छ , “पछिल्लो ८ महिनाको अनुसन्धानपछि हाल प्राप्त डाटालाई हेर्दा जोन्सन एण्ड जोन्सनको सिंगो डोज खोपले शक्तिशाली एन्डिबडी उत्पादन गर्ने गरेको पत्ता लागेको छ जुन समयसँगै घट्दै जानुको सट्टा यसको प्रतिक्रियामा झन सुधार आउँदै जाने देखिएको छ । ”

यस रिसर्चका प्रमुख डाक्टर मेथाइ ममेनका अनुसार यो खोपको एउटा डोज लगाउँदा पनि लामो समयसम्म एन्टिबडीले प्रतिक्रिया जनाइरहन्छ र यसका साथै शरीरमा ‘टी–सेल्स’ नामक इम्युन सेल्स पनि विकसित हुन्छ जुन ८ महिनासम्म रहिरहन सक्छ ।

खोपको प्रारम्भिक ट्रायलमा २० जना स्वयंसेवकको रगत परीक्षण गरिएको थियो । हाभर्ड मेडिकल स्कुलका सहकर्मीहरुसँग मिलेर डाक्टर डान बरोकले सबै रगत जाँच गरेका हुन् । उनी भन्छन्, “यसको डाटा वास्तवमै उत्साहजनक र सुनिश्चितता दिलाउने किसिमको छ । डाटामा टि–सेल्सको प्रतिक्रिया अन्र्तगत ‘सीडी८प्लस टि–सेल्स’ ले भाइरसबाट संक्रमित सेललाई खोजेर नष्ट गर्ने गरेको देखाउँदछ र यो क्रम परीक्षण गरिएको ८ महिना भन्दा लामो समयसम्म जारी रहेको देखिएको छ । ”

एन्टिबडी र टी–सेल प्रतिक्रिया दुवै सुरक्षाका संकेतक भएको डाक्टर बरोकले बताए ।

दुईवटा डोजमा खोप दिइने फाइजर र मोडेर्नाले यसअघि आफ्नो सुईले कम्तीमा ६ महिना सुरक्षा दिलाउने बताएका थिए ।

यसमा बरोकको टिमले चिन्ताजनक भेरियेन्ट पत्ता लागेका मुलुकमा पनि परीक्षण गरेका हुन् । उनीहरुले भारतमा उत्पति भएको अति संक्रमक र खतरनाक मानिने डेल्टा भेरियेन्ट र दक्षिण अफ्रिकाको बेटा भेरियेन्ट विरुद्ध यसले कसरी काम गर्छ भनेर पनि अध्ययन गरेका थिए । यसबारे बरोकले भनेका छन्, “हामीले भेरियेन्टको असरलाई निर्मुल पार्न खोपले आक्रामक तरिकामा लगातार एन्टिबडि दिलाउने गरेको देख्यौँ ।”

कम्पनीका अनुसार डेल्टा सहित बेटा भेरियेन्ट, गामा भेरियेन्ट र अल्फा भेरियेन्ट विरुद्ध पनि यसले प्रभावकारी रुपमा काम गरेको छ ।

यसअघि कम्पनीले जोन्सन एण्ड जोन्सनको दोस्रो या बुस्टर खोप आवश्यक नपर्ने र सिंगो खोप नै पर्याप्त हुने पनि जानकारी गराएको थियो । सिएनएन

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *