Sajhamanch Archive

सेनाद्वारा नेपाल प्रहरीलाई तीनसय नाल हतियार प्रदान

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । नेपाली सेनाले नेपाल प्रहरीलाई विभिन्न किसिमका तीन सय नाल हतियार तथा सोको ४२ हजार ३७० गोटा एम्युनिशन र सम्बद्ध सामग्रीहरु प्रदान गरेको छ । प्रधान सेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई जंगी अड्‍डामा सोमबार आयोजित एक कार्यक्रमबीच उक्त हतियार प्रदान गरेका हुन ।

सेनाले कुनै पनि मूल्य नलिई विभिन्न प्रकारका राइफल र मेशिन गनहरु गरी जम्मा १० हजार ८१८ नाल र सोको एम्युनिशन गोटा १४ लाख ९४ हजार १६ उपलव्ध गराउने मन्त्रिपरिषद्को ०७८ जेठ १७ गतेको निर्णय बमोजिम हतियार प्रदान गरेको हो ।

तीन चरणमा उपलब्ध गराउने योजना अनुसार पहिलो चरणमा ३ सय नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामग्रीहरु हस्तान्तरण गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रमहरु संचालन गर्ने प्रयोजनका लागि हतियार उपलब्ध गराउन नेपाल सरकारबाट उक्त निर्णय भएको हो ।

उक्त हतियार तथा एम्युनिशन तीन चरणमा उपलव्ध गराउने योजना अनुसार बाँकी हतियार तथा एम्युनिशन ०७९ साल वैशाख महिनासम्ममा हस्तान्तरण गरिने बताइएको छ ।

उपलव्ध गराइएका हतियारहरुको मर्मत सम्भार तथा अपरेसन तालिमसमेत नेपाली सेनाद्वारा प्रहरीलाई प्रदान गर्ने योजना रहेको छ ।

उक्त, अवसरमा नेपाली सेनाकातर्फबाट हतियार तथा उपकरण महाशाखा प्रमुख महासेनानी राजेन्द्र मणि गिरी र नेपाल प्रहरीकातर्फबाट प्रहरी प्रधान कार्यालय मानवस्रोत तथा प्रशासन विभागका प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाबीच नेपाली सेनाबाट नेपाल प्रहरीलाई हतियार तथा एम्युनिशन हस्तान्तरण सम्बन्धि सम्झौता पत्र आदान प्रदान भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *