Sajhamanch Archive

डेल्टा भेरियेन्ट नियन्त्रण गर्न सिड्नीमा ‘लकडाउन’ थपियो

Published: in विश्व समाचार, स्वास्थ्य, by .

बीबीसी । सिड्नीका वासिन्दाहरु थप अर्को हप्ता ‘लकडाउन’मा रहनुपर्ने भएको छ । न्यु साउथ वेल्स सरकारले यसबारे जानकारी गराउँदै अधिक संक्रमक मानिएको डेल्टा भेरियेन्टविरुद्ध लड्न यस किसिमको कठिन निर्णय लिनुपरेको जनाएको छ । त्यहाँ गएको जुन २६ तारिखदेखि नागरिकहरुलाई घरैमा बस्ने निर्देशन जारी गरिएको थियो ।

तर, अतिआवश्यक कामका लागि बाहिरिएका केही मानिस भाइरसबाट संक्रमित भएपछि कोरोना फैलने क्रम रोकिन सकेन । लकडाउनमा सिड्नीभरका झन्डै ५० लाख मानिस यति बेला घरैमा बस्न बाध्य भएका छन् । लकडाउन आउँदो शुक्रबार खुलाइने भनिएको थियो । तर, अब भने जुलाई १६ सम्मका लागि लकडाउन थपिएको छ । स्कुलहरु पनि अर्को हप्तासम्म बन्दै रहने बताइएको छ ।

दैनिक संक्रमितहरु वृद्धि भइरहनु र खोप अभियानको सञ्चालन कमस्तरमा हुनुले लकडाउन बढाउनैपर्ने भएको सरकारी अधिकारीहरुले बताएका छन् ।

अष्ट्रेलियाका १० प्रतिशतभन्दा कम नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । विशेषगरी फाइजर खोपको आपूर्ति अभाव हुँदा धेरैले वर्षको अन्त्यसम्म मात्र खोप लगाउन पाउने देखिएको छ ।

प्रिमियर ग्लेडिस बेरेजिकलिआनले बुधबार भनेका छन्, “सबै नागरिकहरुले खोप लगाइसक्नुअगाडिको यो अन्तिम लकडाउन होस् भन्ने सुनिश्चित गर्न हामी सक्दो प्रयास गर्नेछौँ । हामी लकडाउन हटाउँदै फेरि लकडाउन गर्दै गर्ने अवस्थामा पुग्न चाहँदैनौँ ।”

अष्ट्रेलियामा हालै फैलिएको डेल्टा भेरियेन्ट संक्रमणबाट सिड्नी सहर सबैभन्दा नराम्ररी प्रभावित भएको छ । होटेल क्वारेन्टिनमार्फत भाइरस फैलिएपछि सरकारले प्रमुख सहरहरु स् ब्रिस्बेन, डार्विन र पर्थमा पनि लकडाउनको घोषणा गरेको थियो । जसले देशभरको आधा जनसंख्यालाई प्रभावित गरेको थियो । तर, निकायहरुले ती सहरमा भाइरस नियन्त्रणमा लिएपछि अघिल्लो हप्ता नै लकडाउन अन्त्य गरिएको थियो ।

अष्ट्रेलियाले लकडाउन र तीव्र ‘कन्ट्याक्ट ट्रेसिङ’मार्फत भाइरसविरुद्ध सफलता हासिल गर्दै आएको छ । अझैसम्म पनि त्यहाँ तुलनात्मक रुपमा संक्रमण र मृत्युदर कमै मानिन्छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *