Sajhamanch Archive

प्रदेश–२ को प्रदेशसभा बैठक फेरि स्थगित : बजेट पारित नहुने डर

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by .

जनकपुरधाम । प्रदेश नम्बर–२ को प्रदेशसभा बैठक फेरि स्थगित गरिएको छ । बुधबारको लागि तय गरिएको बैठक आउँदो शुक्रबार दिउँसो १ बजेसम्मको लागि स्थगित गरिएको हो ।

यसअघि, यही असार १ गते प्रदेश सरकारले बजेट ल्याएपछि सभामुख सरोजकुमार यादवले असार १५ गते अर्को बैठक बस्ने तय गरेका थिए । त्यो बैठक पनि प्रदेशसभा सदस्यहरुलाई मोबाइलमा एसएमएस पठाएर स्थगित गरिएको जानकारी गराइएको थियो । एसएमएस अर्को बैठक आज बस्ने भनिएको थियो । तर, मंगलबार नै प्रदेशसभा सचिवालयले सबै सांसदलाई एसएमएस पठाएर स्थगित भएको जानकारी गरायो ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जीत यादवले प्रदेश सरकारको विकास निर्माण र अन्य खर्चको भुक्तानी असार २४ गतेसम्म मात्रै हुने भएकाले बुधबार बस्ने बैठक स्थगित गरिएको बताए । उनले सांसदहरुको संसदीय विकास कोषको रकम भुक्तानी र सरकारको अन्य खर्च भुक्तानी गर्न २४ गतेसम्म मात्रै हुने भएकाले व्यस्तताका कारण र कर्मचारी अभावका कारण संसद् सचिवालयमा सूचना टाँसेर प्रदेशसभा बैठक स्थगित गरिएको जानकारी दिए ।

तर, सांसदहरुको माग सम्बोधन नभकोले बजेट पास नहुने डरले सरकारले सहमति नभएसम्म बैठक स्थगित गरेको स्रोतको दाबी छ । सांसदहरुले संसदीय विकास कोषको रकम बढाउनुपर्ने माग गर्दै आएका छन् ।

प्रत्यक्ष निर्वाचित सांसदलाई तीन करोड र समानुपातिक सांसदलाई उक्त कार्यक्रममार्फत एक करोड दिने बजेटमा समावेश गरिएको छ । सांसदहरुले प्रत्यक्षलाई पाँच र समानुपातिक सांसदलाई तीन करोड हुनुपर्ने माग राखेका छन् ।

असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले बजेट भाषण गरेपछि सभामुख सरोजकुमार यादवले ३० मिनेटको लागि बैठक स्थगित गरेका थिए । त्यस समयमा मुख्यमन्त्री र मन्त्री यादवसँग प्रतिपक्षसँगै सत्तापक्षका सांसदहरुले गुनासो गरे । माग सम्बोधन नभए आर्थिक विनियोजन विधेयक टेबल हुन नदिने सांसदहरुले अडान लिए ।

बैठक सुरु भएपछि प्रतिपक्षसँगै सत्तापक्षका सांसदले पनि आसनबाट उठेर विरोध गरेका थिए । माग सम्बोधन हुने मुख्यमन्त्रीले प्रतिबद्धता जनाएपछि बजेट टेबल भएको थियो । तर, माग संशोधन नभएकोले पटक–पटक बैठक स्थगित हुँदै आएको छ ।

जसपाका सांसद परमेश्वर साहले सरकारले रेडबुक तयार नगरेको हुनाले बैठक स्थगित भएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *