जायन्ट पान्डालाई चीनले सङ्कटापन्न सूचीबाट हटायो
Published:
by .काठमाण्डौ । जायन्ट पान्डालाई चीनले सङ्कटापन्न सूचीबाट हटाएको छ । जायन्ट पान्डाको सङ्ख्या एक हजार आठ सय पुगेपछि लोपोन्मुख प्रजातिबाट जोखिममा रहेको सूचीमा राखिएको हो ।
लोपोन्मुख प्रजातिमा नरहे पनि जोखिममा भने रहेको चिनियाँ अधिकारीले बताएका छन् । विज्ञहरूका अनुसार चीन जायन्ट पान्डाको बासस्थान बढाउने सहितका लामो प्रयासबाट संरक्षण गर्न सफल भएको हो ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्गठन आईयूसीएनले सन् २०१६ मै जायन्ट पान्डालाई सङ्कटापन्न सूचीबाट हटाएर जोखिमयुक्त सूचीमा सारेको थियो । तर त्यस बेला चीनले असहमति राखेको थियो । चीनले पाँच वर्षपछि मात्रै वर्गीकरणमा परिवर्तन गरेको हो ।
जायन्ट पान्डा संरक्षणको सफलता मुख्य गरी बाँसका जङ्गलहरू बढाउने कामबाट हासिल भएको चीनको जैविक तथा वातावरण मन्त्रालयकी छोइ सुहोङ्गले बताएको बीबीसीले जनाएको छ । बाँसले पान्डाको खानपानको ९९ प्रतिशत ओगट्ने विज्ञको भनाइ छ । चीनले पान्डालाई राष्ट्रिय सम्पत्ति मान्ने गर्छ ।
Comments