वडाध्यक्ष कार्कीको पहलमा १७ जनाले पाए राहत
Published:
by .झापा । विभिन्न रोग र दुर्घटनाबाट पडित भई उपचाररत बिर्तामोड ८ का १७ जना गम्भिर बिरामीहरुलाई वडा कार्यालयले राहत रकम वितरण गरेको छ । वडाध्यक्ष अजय कार्कीको नेतृत्वमा वडाका जनप्रतिनिधिहरुको टोलीले पिडितहरुको घरघरमा पुगी सहयोग रकम हस्तान्तरण गरेको हो ।
पिडितहरुको औषधी उपचार सहजताका लागि ५ हजार रुपैँयाका दरले १७ परिवारलाई सहयोग गरिएको वडाध्यक्ष कार्कीले बताए । पिडितको थप उपचारका लागि पहल भैरहेका र तत्कालका लागि वडाका तर्फबाट राहत स्वरुप उक्त रकम प्रदान गरिएको उनको भनाई छ ।
ब्रेन ट्युमरका कारण विगत २ बर्षदेखी थला परेकी ४८ बर्षिय पवित्रा देवी मैनाली, सडक दुर्घटनामा परी गम्भिर घाइते बनेका ४२ बर्षका भक्त सिवाकोटी, दुवै मृगौलामा खराब भई ४ बर्षदेखी डाइलासिस गराईरहेका ५३ बर्षिय किरण बहादुर दर्जी र प्यारालाइसिसका कारण थला परेका लोक बहादुर कार्कीको उपचार सहयोगका लागि रकम हस्तान्तरण गरिएको हो ।
त्यस्तै विभिन्न रोगका कारण पिडित बनेका वडाकै साबित्रा कटुवाल, धर्म भट्टराई, फुना राजवंशी र भक्त श्रेष्ठ, गंगा बुढाथोकी, निर कुमार दाहाल, फुपु सतार, सुर्य खड्का, रेनुका देवी कार्की र टेकेन्द्र प्रसाद पौडेल लगायतलाई पनि रकम हस्तान्तरण गरिएको छ ।
त्यस्तै केही दिन अघि छोराको मृत्यु भई किरिया कर्म गरीरहेका बौवा राजवंशीको परिवारलाई किरिया खर्च स्वरुप ५ हजार रुपैँया र दाल चामल लगायतका खाद्य सामाग्री समेत प्रदान गरिएको छ ।
यसअघि कार्कीको पहलमा वडाका विपन्न नागरिकका लागि ८ सय बोरा चामल वितरण गरिएको थियो । वडाध्यक्ष कार्कीको सक्रियताले वडाका विपन्न नागरिकले राहत पाएको भन्दै उनीहरुले खुसी व्यक्त गरेका छन् । गम्भिर बिरामीहरुको थप उपचारको व्यवस्था मिलाईदिन पनि परिवारजनले अनुरोध गरेका छन् ।
Comments